अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नृत्य गर्दै विद्यार्थीको समूह ।

हेटौंडाः हेटौंडा–५ स्थित जीएस निकेतन माविको २२ औं अभिभावक दिवस मनाएको छ । सहकारीको अवधारणामा सञ्चालित मकवानपुरकै ठूलो शैक्षिक संस्था जीएस निकेतन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लामिछानेको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।

अभिभावक दिवसको अवसरमा ४ जना अभिभावकलाई विद्यालयले सम्मान गरेको छ । अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, गायन, नाट्य कला प्रस्तुत गर्नुका साथै विषयगत प्रदर्शनीको समेत आयोजना गरिएको थियो । १० कक्षासम्म पठपाठन हुने जीएस निकेतनमा एक हजार पाँच सय ५४ जना विद्यार्थी अध्ययनरत छन् । अभिभावक दिवसको अवसरमा विद्यालयले छ जना शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । यस्तै ६ जना विद्यार्थीलाई ६ महिनाको छात्रवृत्ति सम्मान प्रदान गरेको छ । कृति प्रकाशन गर्ने विद्यार्थी समर्पण न्यौपानेलाई सम्मान गर्नुका साथै २ सय वटा पुस्तक खरिद गरी २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

अभिभावक भेलामा विद्यालयका प्रिन्सीपल ईश्वरप्रसाद लामिछानेले विद्यालयको वस्तुस्थितिका बारेमा जानकारी राख्नुभएको थियो । जीएस निकेतन मावि ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित शैक्षिक संस्था हो । सहकारीका ६ सय सेयर सदस्य छन् । अभिभावक दिवस समारोहमा वडा अध्यक्ष सुशील घिमिरे, वडा सदस्य रञ्जिता सिलवालको पनि आतिथ्य रहेको थियो ।