रेडियो मकवानपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै ।

हेटौंडाः बुधबार हेटौंडाका दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । हेटौंडा–२ स्थित रेडियो मकवानपुरले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो भने श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मकवानपुरको स्थापना दिवसको अवसरमा हेटौंडा–१६, हटियामा रक्तदान कार्यक्रम भएको हो ।

रेडियो मकवानपुरले आयोजना गरेको कार्यक्रममा २५ जनाले रक्तदान गरे भने श्रीकृष्ण प्रणामी युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा ३० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभयो । माघ महिनामा उल्लेख्य संख्यामा रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रम पर्याप्त भएकै कारण रगतको मागअनुसार सहजै आपूर्ति व्यवस्था मिलाउन सकिएको केन्द्र प्रमुख दाहालको भनाइ छ ।

यसैबीच माघ २१ गते मानवधर्म सेवा समितिले हेटौंडा–११, पूण्यक्षेत्रमा, माघ २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा, माघ २८ गते सहकारी संस्था संस्थाले, माघ २९ गते हेटौंडा उपमहानगरपालिकाको कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ । हेटौंडामा संकलित रगत अहिले हेटौंडामै खपत भइरहेको पनि सञ्चार केन्द्र प्रमुख दाहालले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालस्थित मिर्गौला डायलासिस सेन्टरमा रगतको खपत बढी मात्रामा भइरहेको दाहालले बताउनुभयो ।