कमल फुयाल, प्रधानाध्यापक चण्डिका मावि

मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष दोर्जे स्याङ्तान सेवानिवृत्त शिक्षक हुनुहुन्छ । शिक्षक मात्रै नभएर गाउँपालिका अध्यक्ष स्याङ्तान साविक शिक्षा कार्यालयको स्रोतव्यक्ति र विद्यालय निरीक्षकको भूमिकामा समेत काम गर्नुभएको व्यक्ति हो । उहाँ गाउँपालिका अध्यक्ष हुनुभएपछि मुख्यतः शिक्षा क्षेत्रमा आमुल परिवर्तनको अपेक्षा गरिएको थियो । मकवानपुरगढी गाउँपालिकाको समग्र शिक्षामा सुधारको संकेत नदेखिए पनि मकवानपुरगढी–२, शिखरकटेरीस्थित चण्डिका माविका प्रधानाध्यापक कमल फुयालले भने प्रधानाध्यापक हुनुभएको एक वर्षको अवधिमा विद्यालयमा उल्लेख्य सुधार गर्नुभएको छ । प्रधानाध्यापक फुयालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः एक वर्ष अवधिसम्मको प्रधानाध्यापकको जिम्मेवारी कस्तो रह्यो ?

कमलः मैले वि.सं. २०७८ को पौष महिनाबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको थिएँ । त्यतिबेला त्यहाँ बस्ने बासिन्दा र समुदायको हिसाबमा हेर्दा त्यहाँका बासिन्दाहरुले शिक्षाको बारेमा अझै धेरै कुराहरु बुझ्न बाँकी रहेको थियो । विद्यालयलाई समुदायसँग नजोडिरहेको अवस्थामा विद्यालयलाई समुदायसँग जोड्ने र शिक्षाको क्षेत्रमा केही परिवर्तन ल्याउनैपर्छ भन्ने लागेर मैले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको थिएँ । मैले यो एक वर्षको अवधिमा अभिभावकहरुलाई विद्यालय के हो ?, विद्यालयमा के कस्ता गतिविधिहरु हुन्छन् ?, अभिभावकको विद्यालय र आफ्ना बालबालिकाप्रति जिम्मेवारी के हो ? जस्ता कुराहरु बुझाउन सफल भएँ । शिक्षक, अभिभावक र विद्यार्थीहरुबिचको त्रिकोणात्मक सम्बन्धलाई सुमधुर बनाएर अघि बढेकाले शिक्षाको गुणस्तर बढ्दै पनि गइरहेको छ ।

समाजः तपाईको नेतृत्वमा यो एक वर्षको बीचमा विद्यालयमा मुख्य के–के कुरामा सुधार भयो ?

कमलः भौतिक पूर्वाधारमा केही सुधार भएको छ । शिक्षातर्फ हेर्ने हो भने परम्परागत शिक्षा प्रणालीलाई केही परिवर्तन गरी शिक्षण प्रणालीमा आईसीटीको प्रयोगमा जोड तथा आईसीटी ल्याबको समेत व्यवस्थापन गर्दैछौं । कक्षाकोठाहरुमा पनि आईसीटीको प्रयोग गरी पठनपाठन गर्दैछौं । परीक्षा प्रणाली र परीक्षाको नतिजा प्रकाशनलाई सुधार गरी अभिभावकहरुसमक्ष नतिजा प्रकाशन गर्दै आएका छौं । विद्यार्थीभन्दा शिक्षक जहिले पनि ठूला हुन्, यिनीहरुको कुरा सुन्यो भने यिनीहरुले हामीलाई हेप्छन् भन्ने भ्रमलाई चिरी विद्यार्थीका स–साना गुनासोलाई पनि सम्बोधन गर्दै आएका छौं । र, शिक्षकहरुमा पनि दिनानुदिन आफू पनि अपडेट हुनुपर्छ भन्ने कुरालाई व्यवहारमा लागू गर्दै आएका छौं ।

समाजः शिक्षकहरुको सामुहिक प्रयत्नचाहिँ कस्तो पाउनुभएको छ ?

कमलः विद्यालयमा शिक्षकहरुको लिजर पिरियड (खाली घण्टी) भन्नेबित्तिकै बस्ने, गफ गर्ने र मोबाइल चलाउने समयको रुपमा प्रयोग गर्ने संस्कृति रहेको छ । तर वास्तवमा लिजर पिरियड भनेको अन्य क्रियाकलापको तयारीका लागि दिइएको समय हो । आफ्नो लिजर पिरियडमा खाली भएको कक्षामा गएर “इन्गेज” गर्न पनि सकिन्छ । शिक्षाको गुणस्तर सुधार्नका लागि प्रधानाध्यापकको मात्र नभई सम्पूर्ण शिक्षकहरुको उत्तिकै भूमिका रहेको हुन्छ । हाम्रो विद्यालयमा पनि सम्पूर्ण शिक्षकहरुले सहयोग गर्नुभएको छ । हामीले कार्यविभाजन गरिदिएका छौं र त्यसैअनुसार उहाँहरुले मलाई सहयोग पुर्याउनुभएको छ ।

समाजः प्रधानाध्यापकको जिम्मेवारी स्थायी र सिनियर शिक्षकले लिनुपर्छ भन्ने जड बुझाई रहेको छ, त्यो विपरीत तपाईं राहत कोटाको शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै गर्दा राहत कोटाको शिक्षकले पनि प्रधानाध्यापकको जिम्मेवारी पाउनुपर्छ भन्ने कुरालाई कत्तिको स्वीकारेको जस्तो महसुस गर्नुभएको छ ?

कमलः मैले बुझेअनुसार स्थायी र सिनियर शिक्षकले नै प्रधानाध्यापकको जिम्मेवारी पाउनुपर्छ भन्ने कुरा उहाँहरुको अधिकारभित्र पर्दाेरहेछ । अस्थायी तथा राहतको शिक्षकलाई प्रधानाध्यापक दिँदा स्थायी शिक्षकले मुद्धा हालेर प्रधानाध्यापकको जिम्मेवारी लिन पनि पाइँदोरहेछ । नेपाल सरकारले बनाएको प्रणालीअनुसार स्थायी शिक्षकले चाहनुभयो भने यस्ता अधिकारहरु पाउनुहुन्छ, तर सरकारको यो प्रणालीमा कार्यकुशलता भने मापन गरेको पाइएन । मेरो विचारमा राहत कोटाको शिक्षकमा शिक्षाको गुणस्तर सुधार्न सक्ने वा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता छ भने स्थानीय निकायले पनि सहयोग गर्नुपर्छ जस्तो लाग्छ ।

समाजः तपाईको नेतृत्वमा व्यवस्थापन समितिको अवधारणाअनुसार उहाँहरुको परिचालन तथा उपयोग कसरी गर्दै आउनुभएको छ ?

कमलः व्यवस्थापन समितिबिना विद्यालय चल्नै सक्दैन । व्यवस्थापन समितिको मातहातमा रहेर विद्यालयको प्रशासनले काम गरेको हुन्छ । विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक गुणस्तर सुधारजस्ता विषयहरुमा व्यवस्थापन समितिसँग सहकार्य गरी अघि बढ्दै आएका छौं । मैले नेतृत्व थालेपछि केही मात्रामा भौतिक पूर्वाधारहरुमा सुधार आएको छ । शैक्षिक गुणस्तरअन्तर्गत् नम्बरलाई मात्र नहेरी सीप विकास, व्यवहार परिवर्तन र आचरणमा आएका परिवर्तनहरुमा हेर्दै आएका छौं । यस्ता सम्पूर्ण सुधारका कार्यहरुमा व्यवस्थापक समितिको सहयोग महत्वपूर्ण रहेको छ । र, हामीले व्यवस्थापन समितिसँग सहकार्य गरी सँगसँगै अघि बढेका छौं ।

समाजः प्रथम त्रैमासिक परीक्षादेखि अर्धवार्षिक परीक्षासम्म आइपुग्दा विद्यार्थीको नतिजामा कस्तो सुधार पाउनुभयो ?

कमलः प्रथम त्रैमासिक परीक्षाको तुलनामा अर्धवार्षिक परीक्षामा विद्यार्थीहरुको नतिजा सुधारमूलक देखिन्छ । वार्षिक परीक्षामा अझै नतिजामा सुधार आउने आशा पनि गरेका छौं । त्यसका लागि हामीले साप्ताहिक तथा मासिक परीक्षाहरु नियमित लिइँदै आएको छ र उक्त परीक्षाको विश्लेषण अभिभावकहरुलाई समेत राखेर गर्दै आएका छौं । अभिभावक, शिक्षक र विद्यार्थी बसेर नतिजालाई अझै सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा गहन छलफल पनि गर्दै आएका छौं ।