आँखा परिक्षण गराउँदै ।

हेटौंडाः लायन्स क्लबको आयोजनामा जारी निःशुल्क आँखा परीक्षण शिविरअन्तर्गत् मंगलबार मकवानपुर र बारा जिल्लामा शिविर भएको छ । मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा, बारा जिल्लाको भादाह र बाराकै इनवसीरामा शिविर भएको हो ।

मकवानपुरको बागमतीमा भएको शिविरमा २ सय ११ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतिविन्दु देखिएको छ । यस्तै, बारा जिल्लाको भादाहमा भएको शिविरमा २ सय ८२ जनाको परीक्षण गर्दा ७२ जनामा मोतिविन्दु र बाराकै इनवसीरामा भएको शिविरमा २ सय ८६ जनाको परीक्षण गरिएकोमा ५० जनामा मोतिविन्दु पाइएको छ । मोतिविन्दु देखिएकाहरुलाई बिहीबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने र शुक्रबार शल्यक्रिया गरिने कार्यक्रम संयोजक अमित शर्माले बताउनुभयो । नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले आँखाको परीक्षण गरिरहनुभएको छ ।

लायन्सको आयोजनामा सोमबार बाराको महेशपुरमा भएको शिविरमा ३ सय ९१ जनाको आँखा परीक्षण गरिएकोमा ९२ जनामा मोतिविन्दु र सर्लाहीको हरिवन नगरपालिकामा भएको शिविरमा ३ सय ३६ जनाको आँखा परीक्षण गरिएकोमा ३६ जनामा मोतिविन्दु देखिएको थियो । यस्तै, बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिका, हेटौंडाको बसामाडी गुम्बामा र पर्सा जिल्लाको वीरगञ्जमा आँखा शिविर हुने जनाइएको छ ।