फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले हेटौंडामा फुटबल एकेडेमी सञ्चालनको तयारी सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले खेलाडी उत्पादन, खेलको विकास र प्रबर्द्धनका लागि एकेडेमी सञ्चालन गर्न लागिएको हो ।

फुटबलका खेलाडीको लागि उर्वर भूमि मानिँदै आएको हेटौंडाबाट प्रतिभावान नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताइएको छ । जिल्लामा सञ्चालन हुने प्रतियोगिता र राष्ट्रियस्तरका खेलमा खेलाडी सहभागी गराएर हेटौंडाको पहिचान कायम गर्ने उद्देश्यले एकेडेमीको सुरुवात गर्न लागिएको छ । उपमहानगरपालिकाले हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेसँगै खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको हो ।

स्थानीय तहबाटै खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै हेटौंडा उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । कार्यविधि स्वीकृतिसँगै उपमहानगरपालिकामा आवासीय सुबिधासहित खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको उहाँले जानकारी दिनुभयो । कार्यविधिअनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखि १४ वर्ष उमेर समूहका उत्कृष्ट महिला तथा पुरुष खेलाडी छनोट गरी एकेडेमीमा राखेर प्रशिक्षण दिइने बताइएको छ ।

पारित कार्यविधिअनुसार उपमहानगरको हरेक वडाबाट १/१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अब्बल खेलाडीसहित ४५ जनालाई “क्लोज क्याम्प”मा राखेर नियमित प्रशिक्षणसहित आवास, खानपान, शिक्षा र स्वास्थ्य उपचार सुविधासहित एकेडेमी सञ्चालन गरिने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताउनुभयो । एकेडेमीमा नगरका ४५ जना महिला तथा पुरुष खेलाडीलाई आवासीय सुविधा सहित प्रशिक्षण गराउनका चालु आर्थिक वर्षका लागि ७५ लाख रुपैयाँ रकम बिनियोजन गरेको छ ।

मकवानपुर जिल्ला फुटबल संघसँग चाँडै फुटबल एकेडेमी सञ्चालनका लागि सम्झौताको काम अघि बढाउने तयारी उपमहानपालिकाले गरेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । मकवानपुरमा सञ्चालन हुने एकेडेमीका उत्पादन खेलाडीले राष्ट्रियस्तरमा नाम कमाउन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रवक्ता न्यौपानेका अनुसार जिल्लामा हुने दुई वटा राष्ट्रियस्तरका प्रतियोगितामा समेत स्थानीय टोलीमा बाहिरका खेलाडी समावेश गराउनुपर्ने बाध्यता अन्त्य विश्वास उपमहानगरपालिकाले राखेको छ ।