तालिमको उद्घाटन गर्दै मेयर मिना लामा ।

हेटौंडाः लागूऔषधको कुलतमा परि सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गरी हेटौंडामा विद्युत जडान तालिम सुरु भएको छ । लागूऔषधको कुलतमा परेर दैनिक जीवनयापनमा समेत असहज अवस्था आएपछि सुधार केन्द्रबाट सुधारपछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि तालिम सञ्चालन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र र मकवानपुर रिकभरीङ समूहले सञ्चालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले जीवन आफ्नै लागि जिउने हो अरुको लागि सोचेर मानसिक तनाब नलिन सुझाब दिनुभएको छ । आफुले सिकेको सिप आफ्नै लागि भए जस्तै आफुले पाएको जीवन पनि आफ्नै लागि भएको बताउनुभयो । विभिन्न खालका मानसिक तनाब बोकेर होइन खुल्ला र खुशीका साथ हिड्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

रिकभरीङ समूहका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तिन महिने तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दीपक खड्का, हेटौंडा ५ का वडा सदस्य रञ्जीता सिलवाल, हेटौंडा उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, मानब अधिकार संगठनकी सर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो । सुधार केन्द्रमा रहेका ३६ जना मध्य २० जना तालिममा सहभागी छन् ।