हेटौंडाः बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक दिपक थापाले बिहीबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार, (माननीय उप–प्रधानमन्त्री तथा गृह मन्त्रीस्तर) को पुस २९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाडौंबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएको थियो ।
बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरिएको छ । पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिनु भएको थियो । त्यसैगरी, प्रदेश प्रहरी प्रमुख दिपक थापाले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।