हेटौंडा सामुदायिक आँखा अस्पताल ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले सन् २०२२ मा ८१ हजार ८७ जनाको आँखाको परीक्षण गरेको उल्लेख गरेको छ । यस्तै, एक वर्षमा अस्पतालले ५ हजार २ सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालबाट आँखा परीक्षण सेवा लिनेहरुमा ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष रहेको उहाँले बताउनुभयो । आँखामा देखिएका मोतिविन्दु, जलविन्दु लगायतको समस्याका बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । आँखा अस्पतालले सञ्चालन गरेको विभिन्न ५९ वटा आँखा परीक्षण शिविरमा १२ हजार ३ सय ३६ जनाले आँखा परीक्षण गराएको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ । व्यवस्थापक श्रेष्ठका अनुसार अस्पतालले शिविरबाट परीक्षणको क्रममा समस्या देखिएका १ हजार ७ सय ३६ जना बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गरेको छ ।

शिविरमा उपचारका लागि आएकाको आँखा परीक्षण गरिँदै । फाइल तस्विर ।

अस्पतालले मकवानपुर जिल्लासँगै बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लाहरुमा आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो । अस्पतालले ६ वटा जिल्लाहरुमा हरेक वर्ष नियमितरुपमा आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । आँखा अस्पतालमा भएका शल्यक्रियाहरुमा ३ हजार ७ सय ७८ जनाको जटिल शल्यक्रिया गरेको उल्लेख गरिएको छ । यस्तै, १ हजार ४ सय ८६ जनाको माइनर अप्रेसन गरेको छ । त्यसैगरी, सन् २०२२ मा ३ हजार ४ सय २६ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा १ हजार ९ सय ४० जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । त्यसैगरी, अस्पतालले आँखा स्वास्थ्यसम्बन्धी तालिम तथा जनचेतना कार्यक्रम ४ वटा सञ्चालन गरेको उल्लेख गरेको छ । अस्पतालले महिला स्वास्थ्य स्वयम्सेविका, पत्रकार, ग्रील व्यवसायी, स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

मोतिविन्दुको शल्यक्रिया गरिएका विरामीहरु । फाइल तस्वीर ।

पछिल्लो एक वर्षमा मनहरी गाउँपालिका र बागमती गाउँपालिकामा सेवा केन्द्र थप गरिएको उहाँले जानकारी दिनुभयो । योसँगै हाल हेटौंडा सामुदायिक आँखा अस्पतालका केन्द्रहरु थाहा नगरपालिकाको पालुङ, मनहरी गाउँपालिका र बागमती गाउँपालिकामा सञ्चालनमा रहेको छ । यस्तै, ईन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा चाँडै आँखा अस्पतालको केन्द्र स्थापना हुने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ । उहाँका अनुसार २ वटै गाउँपालिकामा सेवा केन्द्र सञ्चालनको काम प्रक्रियामा रहेको छ ।

आँखा अस्पतालबाट पछिल्लो एक वर्षमा करिब २ सय जना आँखाका समस्या भएका बिरामीहरुलाई तिलगंगा आँखा अस्पतालमा रिफर गरिएको उहाँले जानकारी दिनुभयो । अधिकांश आँखाका बिरामीहरुको उपचार हेटौंडामा नै हुने भएकाले थोरै बिरामीहरुमात्रै रिफर गर्ने गरेको उहाँले बताउनुभयो । आँखा अस्पतालको उपचार र व्यवस्थापन सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

हाल हेटौंडा सामुदायिक आँखा अस्पतालमा वरिष्ठ नेत्ररोग विशेषज्ञ ३ जनासहित ५५ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरिरहेका छन् । हेटौंडा सामुदायिक आँखा अस्पतालको उपचारमा नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमाको कार्यक्रम पनि लागू हुने भएकोले बिरामीहरु बढी आउने गरेको उहाँले जानकारी दिनुभयो ।

दैनिक अस्पतालमा उपचार गर्न आउने मध्ये ५० प्रतिशत बिरामी स्वास्थ्य बीमाको रहेको उहाँले बताउनुभयो । स्वास्थ्य बिमाले सेवाग्राहीलाई सहज भएपनि अस्पताल सञ्चालनमा समस्या भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘बीमा कार्डबाट सेवा लिनेको संख्या धेरै छ । अधिकांश बिरामीहरुले स्वास्थ्य बीमाको सेवा प्रयोग गरेका छन् । तर, बिमाको रकम भुक्तानी समयमा नपाउँदा संस्था सञ्चालनमा समस्या हुने गरेको छ । अस्पतालमा हुने सबै खर्चहरु बिरामीबाट लिएको न्यून शुल्कबाटै गर्नुपर्ने हुन्छ । तर, समयमा रकम संस्थालाई उपलब्ध नहुँदा दैनिक सेवाहरु उपलब्ध गराउनसमेत समस्या हुने गरेको छ ।’

अस्पतालले बीमाबाट साढे ४ करोड रुपैयाँ पाउन बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयो । स्वास्थ्य संस्थालाई खर्च उठाउन र शल्यक्रिया खर्च चलाउनसमेत समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, ‘स्वास्थ्य संस्थाले उधारोमा काम गरेजत्तिकै भएको छ । पैसा त आउँछ तर, कहिले आउँछ भन्ने थाहा छैन । धेरै रकम बाँकी हुँदा संस्था सञ्चालनमा समस्या भएको छ ।’