राष्ट्रिय औद्योगिक व्यापार महोत्सवबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल ।

हेटौंडाः मकवानपुरमा आज बुधबारबाट १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु हुँदैछ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा–१०, टीसीएन चौरमा हुन लागेका महोत्सवको बुधबार बामगती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नुहुनेछ ।

महोत्सवबारे जानकारी गराउनुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले महोत्वसवमा व्यवसायीहरुले आफ्नो उत्पादन तथा वस्तु तथा सेवाहरुको प्रदर्शनी गर्ने बताउनुभयो । महोत्सवमा ३ सय ३७ स्टल रहने उहाँले बताउनुभयो । होटल ३०, अटोजोन १०, विशेष र २ वटा डुम रहेका छन् ।

यस्तै, कृषि, खाद्यजस्ता दैनिक उपभोग्य वस्तुहरुको प्रदर्शनी, घरेलु हस्तकला, महिला उद्यमीबाट उत्पादित सामानहरु, आइटी, मनोरञ्जन तथा चेतनामूलक सामग्रीहरुको प्रदर्शनी हुने उहाँले बताउनुभयो । महोत्वसमा हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगितासमेत हुनेछ । महोत्वसबाट करिब ३० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालले बताउनुभयो । महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।