सांकेतिक चित्र ।

हेटौंडाः हेटौंडा–१७, चुच्चेखोलामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । शनिबार दिउँसो १ बजेर ३० मिनेटको समयमा १८ वर्षीय जोधाकुमार सहनी चक्कु प्रहारबाट घाइते भएका हुन् । सहनी भारत मोतिहारी जिल्ला घर भई हाल हेटौंडा–४, कमलडाँडा बसेर कवाडीको काम गर्ने युवा हुन् ।

मादक पदार्थ सेवन गरी हेटौंडा–१७, हटियाका ३२ वर्षीय सन्तोष राई र हेटौंडा–९, लामसुरेका १९ वर्षीय सुशील मोक्तानले सहनीलाई चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । चक्कु प्रहारबाट घाइते सहनीलाई आफन्तले उपचारका लागि हेटौंडा अस्पताल ल्याएका छन् । सहनीको छातीको दाहिने भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक केशर न्यौपाने र अस्थायी प्रहरी पोष्ट हटियाबाट प्रहरी सहायक निरीक्षक पंकजकुमार झाको कमाण्डमा खटिएको संयुक्त टोलीले राई र मोक्तानलाई नियन्त्रणमा लिएको छ । चक्कु प्रहार गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान गरिहरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।