हेटौंडा फुटबल एकेडेमीका सञ्चालक भीम लामालाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख मिना कुमारी लामा ।

हेटौंडाः नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटी मकवानपुरले हेटौंडा फुटबल एकेडेमीलाई नगद सहयोग गरेको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिमा एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा फुटबल एकेडेमीलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई रकम हस्तान्तरण गर्नुभयो । नगर प्रमुख लामाले हेटौंडा उपमहानगरपालिले एकेडेमीलाई तत्काल १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ । आगामी दिनमा बजेटमै एकेडेमीको कार्यक्रम राखेर महिला फुटबललाई अगाडि बढाउने नगर प्रमुख लामाले प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख लामाले प्रशिक्षक भीम लामाको प्रशंसासमेत गर्नुभयो । मकवानपुरमा बलियो महिला फुटबल टिम निर्माणमा हेटौंडा फुटबल एकेडेमीको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।

फुटबल क्षेत्रमा महिलाहरु नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भनेर नेपाल खेलकुद महासंघ समाजवादीले सहयोग गरेको महासंघका केन्द्रीय सदस्य निरज सिंह ठकुरीले बताउनुभयो । ठकुरीले भन्नुभयो ‘महिला फुटबल खेलाडीहरुलाई खेलकुद सामग्रीहरु अभावलगायतका समस्या सुन्यौं । हेटौंडा फुटबल एकेडेमीले फुटबल खेल्न इच्छुक सबै महिला खेलाडीलाई खोजेर अगाडि बढाइरहेको अवस्था छ, कसैको पनि सहयोग छैन । प्रशिक्षक भीम लामा एक्लै संघर्ष गरेर महिला खेलाडी उत्पादनमा निस्वार्थरुपमा काम गरिरहेका छन् र हामीले केही गर्नुपर्छ भनेर सहयोग गरिएको हो ।’

हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले आफू महिलालाई खेलकुदमा अगाडि बढाउनुपर्छ भनेर ४ वर्षदेखि निरन्तर लागिरहेको बताउनुभयो । प्रशिक्षक लामाले आफ्नै खर्चमा महिला खेलाडीहरुलाई मैत्रीपूर्ण खेल खेलाउने र जर्सी वितरण गर्दै आइरहुनुभएको छ । हेटौंडा फुटबल एकेडेमीमा अहिले २० जना महिला खेलाडीहरु रहेको प्रशिक्षक लामाले बताउनुभयो ।

महिला खेलाडी उत्पादन गनुपर्छ भनेर जस्तोसुकै समस्या आए पनि निरन्तर प्रशिक्षण गरिरहेको उहाँले बताउनुभयो । महिला खेलाडीहरु बागमती, मनहरीलगायतका पनि छन् । यी खेलाडीहरु नियमितरुपमा प्रशिक्षणमा आउन सक्ने स्थिति छैन । महिला खेलाडी भएकाले घरका काम पनि हेर्नुपर्ने भएकाले समयमा प्रशिक्षणमा उपस्थित हुन सक्ने अवस्था नभएको प्रशिक्षक लामा बताउनुहुन्छ । लामाले भन्नुभयो ‘नियमितरुपमा प्रशिक्षणमा आउनजान समस्या नै छ । पुरुष फुटबलमा जस्तो प्रतियोगिताहरु नहुँदा पनि आफ्नै खर्चमा बाहिर जिल्लाका महिला टिमसँग गेम खेलाउन लाने गरिरहेको छु । धेरै राशिका खेलहरु पनि महिला फुटबलमा हुँदैन ।’

प्रशिक्षक लामाको नेतृत्वमा मकवानपुरका महिला फुटबल टिमले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा उपाधि जितेको थियो । उहाँले महिला खेलाडीहरुलाई टिकाउन आवश्यक रहेको बताउनुभएको छ । प्रशिक्षक लामाले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको १ लाख रुपैयाँले खेलाडीहरुलाई आवश्यक पर्ने खेल सामग्री विरतरण गरिदिने र डाइट खुवाउने बताउनुभयो । उहाँले केही दिनमै मैत्रीपूर्ण खेलहरु खेलाउने तयारी रहेको बताउनुभयो ।

नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटी मकवानपुरका अध्यक्ष उमेश बढाथोकीको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघको केन्द्रीय सचिवालय सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, कार्यालय प्रमुख माधव कोइरालालगायतको उपस्थिति रहेको थियो ।