हेटौंडाः मकवानपुरका सामुदायिक विद्यालयहरुले चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षाको परीक्षाफल प्रकाशन तथा समीक्षाको कार्य गरिरहेको छ । पुस अन्तिम साता सञ्चालित परीक्षाको नतीजा सार्वजनिक गर्नुका साथै अभिभावकको समेत उपस्थितिमा परीक्षाको नतीजासँगै विद्यालयको शैक्षिक अवस्थाका बारेमा समीक्षा समेत गरिएको छ ।
हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा शुक्रबार परीक्षाफल सार्वजनिक गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलका अनुसार वडा अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा नतीजा प्रकाशन, समीक्षाका साथै छात्रवृत्ति समेत वितरण गरिएको छ । १ कक्षादेखि १० कक्षासम्म नेपाली माध्यमतर्फको परीक्षाफल प्रकाशन गरिएको सहायक प्रधानाध्यापक प्याकुरेलले जानकारी दिनुभयो । परीक्षामा दुई सय ७५ जना विद्यार्थी सहभागी थिए । अंग्रेजी माध्यमको अर्धवार्षिक परीक्षा भने मंसिरमै भइसकेको विद्यालयले जनाएको छ । श्रमिक माविमा नर्सरी, केजी, १ र ६ कक्षा अंग्रेजी माध्यममा पनि चलिरहेको छ । अंग्रेजी माध्यममा ६० जना विद्यार्थी अध्ययनरत छन् । छात्रा छात्रवृत्ति, दलित र अपाङ्गता भएका विद्यार्थी गरी कुल एक सय ५३ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
प्रथम त्रैमासिकको भन्दा विद्यार्थीको नतीजा सुधारिएको सहायक प्रधानाध्यापक प्याकुरेलले बताउनुभयो । समीक्षामा सहभागी अभिभावकले पछिल्लो चरणको विद्यालयको गतिविधि राम्रो रहेको, छिटो नतीजा प्रकाशन गर्नु, साप्ताहिक परीक्षा सञ्चालन गर्नुले विद्यार्थीको पढ्ने बानी बढेको अभिभावकको प्रतिक्रिया दिएको सहायक प्रधानाध्यापक प्याकुरेलले जानकारी दिनुभयो । श्रमिक माविमा ४ सय २७ मध्ये जना विद्यार्थी भर्ना भएकोमा अर्धवार्षिक परीक्षा सञ्चालन गर्ने अवधिसम्ममा ३ सय ७० जना अध्ययनरत छन् ।
यस्तै मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित राष्ट्रिय रोटरी माविमा पनि शुक्रबार नतीजा प्रकाशन गर्नुका साथै समीक्षा समेत गरिएको प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनुभयो । परीक्षाको नतीजा प्रकाशन तथा समीक्षामा सहभागी अभिभावकले बालबालिका मोवाइलमा व्यस्त हुने गरेको गुनासो गर्नुका साथै गृहकार्य नियमित दिने र परीक्षण गरी सुधारका लागि विद्यार्थीलाई प्रेरित गर्न पनि आग्रह गरेको प्रधानाध्यापक पौडेलले बताउनुभएको छ । शुक्रबार रोटरी माविमा कक्षा ८ र १० को मात्रै परीक्षाफल सार्वजनिक गरिएको छ ।
रोटरी माविमा कक्षा ८ मा एक सय २७ जना र कक्षा १० मा एक सय चारजना विद्यार्थी अध्ययनरत छन् । विषयगत शिक्षक र अभिभावकबीचको अन्तरक्रियामा अभिभावकले आफ्ना बाबुनानी मोवाइलमा झुम्मिने गरेको गुनासो गरेका छन् । शिक्षकले पूरा समय विद्यालयमा दिएर शैक्षिक गुणस्तर सुधार गर्न ध्यान दिनुपर्नेमा पनि अभिभावकले जोड दिएका छन् ।
पहिलो त्रैमासिकको तुलना अर्धवार्षिक परीक्षामा विद्यार्थीको सुधार भए पनि कोरोनाकालले विद्यार्थीको पढ्ने, बुझ्ने क्षमतामा ह्रास आएको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा एक हजार तीन सय ३५ विद्यार्थी अध्ययनरत छन् । १० कक्षासम्म एक हजार नौं जना भर्ना भएको रोटरी माविमा अर्धवार्षिक परीक्षा दिने विद्यार्थीको संख्या आठ सय १७ रहेको प्रधानाध्यापक पौडेलले स्पष्ट पार्नुभयो ।