कृषि उपजको प्रदर्शनी ।

हेटौंडाः राष्ट्रिय कृषि जैविक विविधता वर्ष, २०७९ को अवसरमा ललितपुरमा कृषि जैविक विविधता एवम् रैथानेबाली उपज प्रदर्शनी भएको छ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा मकवानपुरगढीमा उत्पादित रैथाने बालिको प्रदर्शनी गरिएको छ ।

“जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता” भन्ने नारासाथ कृषि जैविक विविधता वर्ष मनाईएको हो । प्रदर्शनीमा मकवानपुर गढीमा उत्पादन हुने रैथानेबाली र त्यसका उपजको प्रदर्शनी भएको समेत भएको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । प्रदर्शनीमा कोदो, फापर, कागुनो, पिडालु, तरुल, सीमि, अदुवा, बेसार, मस्याङ, सिलाम, कोदोको पिठो, बेसारको धुलो, कोदोको नमकिन, फापरको बिस्कुट समेत राखिएको उहाँले बताउनुभयो । रैथाने बालीका उपजहरु मकवानपुरगढी गाउँपालिकाका जनजागृति कृषक समूह, अपाङ्ग तथा विपन्न कृषि सहकारीको उत्पादक रहेको उहाँले बताउनुभयो ।

प्रदर्शनी कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलको सभाध्यक्षता तथा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय ज्वालाकुमारी साहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत उपस्थिति रहेको थियो ।