पछिल्लो समय हेटौंडामा स्वास्थ्य सपचार सेवा सहज बन्दै गएको छ । बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र पठनपाठन सुरु भएपछि हेटौंडामा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा विस्तार भइरहेको छ । प्रतिष्ठानले हेटौंडा अस्पताललाई आफ्नो शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजनाअनुसार विशेषज्ञ चिकित्सकसहित विभिन्न रोगको उपचार सेवा थप भइरहेका छन् । जसले गर्दा हेटौंडा अस्पतालमा विभिन्न रोगहरुको स्वास्थ्य उपचार सहज बन्दै गएको छ । हेटौंडामा रहेका विभिन्न निजी अस्पतालहरुमा पनि स्वास्थ्य सेवाहरु विस्तार प्रभावकारी बनिरहेका छन् । सरकारी तथा निजी अस्पतालहरुले स्वास्थ्य उपचारका लागि आवश्यक प्रविधि र जनशक्तिको व्यवस्थापन गर्दै गएपछि स्वास्थ्य उपचार सेवा सहज बन्दै गएको हो । अस्पतालहरुले भौतिक पक्षको विकाससँगै नयाँनयाँ प्रविधिको प्रयोग गरी सेवा सुविधा पनि विस्तार र सुधार हुँदै गएपछि मकवानपुरबासीलाई उपचारका लागि बाहिर जाने बाध्यता कम हुँदै गएको छ ।

हेटौंडामा रहेको मकवानपुर सहकारी अस्पतालमा अत्याधुनिक प्रविधि भित्रिएसँगै मिर्गौलाको पत्थरीको सफल उपचार गरिएको छ । अस्पतालले करिब एक करोड रुपैयाँ लगानी गरी परक्युटानियस नेफ्रोलिथोटोमी प्रविधिको उपकरण ल्याएको छ । यो उपकरण ल्याएपछि भरतपुरबाट विशेषज्ञ चिकित्सक बोलाएर आइतबार एकजना बिरामीको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया गरिएको छ । पाइपको माध्यमबाट दुरबीनमार्फत् मिर्गौलामा रहेको पत्थरी निकालिएको छ । भरतपुर क्यान्सर अस्पतालमा कार्यरत युरो सर्जन डा. बिनोदबाबु घर्तीले मकवानपुरगढी गाउँपालिका–४ का ३० वर्षीय दीपक घिमिरेको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया गर्नुभएको हो । काठमाडौं र भरतपुरमा यो प्रविधि प्रयोगमा आएको झण्डै दुई दशकपछि मकवानपुरमा यस्तो प्रविधि भित्रिएको बताइएको छ । जिल्लाको स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्न सरकारी तथा निजी स्वास्थ्य संस्था सक्रिय बन्नु जिल्लाबासीमा खुशीयाली ल्याएको छ ।

हेटौंडामा केही महिनाअघिबाट हेटौंडा अस्पतालको नयाँ भवन निर्माण सम्पन्न गरी अधिकांश स्वास्थ्य सेवा नयाँ भवनबाट सञ्चालनमा ल्याइएको छ । यसले अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य उपचार सेवा सहज र सुधार हुँदै गएको छ । हेटौंडा अस्पतालको विकास र विस्तारका लागि संघीय सरकारदेखि बागमती प्रदेश सरकार र स्थानीय तहको सक्रियता बढिरहेको छ । अहिले हेटौंडा अस्पतालमा अधिकांश रोगका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिनअघि मात्रै थप २० जना स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । अस्पतालमा जटिल किसिमका शल्यक्रियाहरु सुरु भएका छन् । सिटी स्क्यान सेवा थपिएको छ । मृगौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि सम्झौता भएको छ । हेटौंडा अस्पतालले आफ्नो प्रयोगशालामा थप परीक्षण सेवा सुरु गरेको छ । यी सबै गतिविधिले जिल्लाको स्वास्थ्य उपचार सेवा सहज बन्दै गएको छ ।

सुविधासम्पन्न अस्पताल, आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक आदिको अभावमा सहज उपचार दिन नसकेका हेटौंडाका सरकारी तथा निजी अस्पतालहरुले सेवा विस्तार गर्नुले स्वास्थ्य उपचार थप सहज हुने आशा गर्न सकिन्छ । हेटौंडा अब बागमती प्रदेशको राजधानीसमेत भएका कारण यहाँ सुविधासम्पन्न अस्पताल र सबै प्रकारका रोगको उपचार सेवा उपलब्ध हुनुपर्छ । यसका लागि प्रतिष्ठान र शिक्षण अस्पतालले सहजता प्रदान गर्ने निश्चित छ । सुविधासम्पन्न अस्पताल, उपचार प्रविधि र काम गर्ने वातावरण भएपछि विशेषज्ञ चिकित्सकको उपलब्धता सहज हुने निश्चित छ । जसबाट आम नागरिकले हेटौंडामै स्तरीय स्वास्थ्य उपचार सेवा पाउन सक्छन् । स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने र धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अन्त्य हुन्छ भने समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था पनि रहँदैन ।