हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भुटनिज युथ स्पोर्टस् क्लब र संकटा क्लब भिड्ने भएका छन् । बागमती–८, फापरबारीस्थित जनता माविको खेल मैदानमा दुबै टिम उपाधि हात पार्ने योजनासहित मैदानमा उत्रनेछ । उपाधिको फाइनल खेल आज मंगलबार दिउँसो १ बजे हुनेछ ।

भुटनिज क्लब समूह ‘क’को विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो भने संकटा क्लब समूह ‘ख’को विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । भुटनिजले क्वाटरफाइनलमा हिमालयन शेर्पालाई २–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, शनिबार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै भुटनिज क्लब फाइनलमा प्रवेश गरेको हो । त्यस्तै, संकटा क्लबले क्वाटरफाइनलमा नेपाल एपीएफ क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । आइतबार भएको सेमिफाइल खेलमा संकटा क्लबले मकवानपुर–११ लाई २—० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

नकआउट प्रणालीमा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।