अभिभावक दिवसमा आआफ्नो कला प्रस्तुत गर्न तयारी अवस्थामा रहेका विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको ३० औं अभिभावक दिवस शुक्रबार मनाइएको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्ष तथा प्याव्सनका केन्द्रीय उपाध्यक्ष आशीष श्रेष्ठको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।

अभिभावक दिवसको अवसरमा वर्ष विद्यार्थीको रुपमा कक्षा १० का प्रज्ञान पन्तलाई सम्मान गरिएको थियो । यस्तै जुलियन महतो, सेलिन लामा र दिपिका श्रेष्ठलाई सम्मान गरिएको थियो । शिक्षकहरु राधिका श्रेष्ठ, प्रमिला लामा, ज्योति क्षेत्री, कर्मचारी भरत कार्की, पत्रकार गणेश दर्पण अधिकारीलाई पनि सम्मान गरेको छ । अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, गायन तथा नाट्यकला प्रस्तुत गरेका थिए । सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमीमा एक हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

अभिभावक दिवस समारोह उद्घाटन गर्नुहुँदै प्याव्सन केन्द्रीय समितिका उपाध्यक्ष आशिष श्रेष्ठ ।

अभिभावक दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै विद्यालयकी प्रिन्सीपल रीना आचार्यले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयले मासिकरुपमा अतिरिक्त क्रियाकलाप गर्दै आएको बताउनुभयो । ९ महिनाको अवधिमा ५ वटा भेला गरिए पनि सोचेजस्तो अभिभावकको उपस्थिति हुन नसकेको उहाँले गुनासो गर्नुभयो । अभिभावक उपस्थित नहुँदा पूर्णरुपमा विद्यालयको गतिविधि अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । विद्यालयले विद्यार्थीको मूल्यांकनसँगै प्रविधिमैत्री शिक्षालाई समेत प्रभावकारी बनाएको उहाँले बताउनुभयो । ३ दशकसम्म विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उहाँले दावी गर्नुभयो । समयसापेक्ष शिक्षा दिनु नै सोलिड्यारिटीको प्रमुख उद्देश्य रहेको प्रिन्सीपल आचार्यले स्पष्ट पार्नुभयो ।