उद्घाटन खेलमा सहभागी अतिथिहरु ।

हेटौंडाः मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रायोजनमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार बिहिन हेटौंडा–४ स्थित भलिबल कोर्टमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष प्रकाश सुवेदीको सभाध्यक्षता तथा एकेडेमीका केन्द्रिय अध्यक्ष धुव्र आचार्यको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो ।

प्रतियोगितामा २६ वटा विद्यालयको सहभागिता रहेको छ । सहभागी टिमलाई समूह “क” र “ख” गरी दुई समूहमा विभाजन गरिएको छ । समूह “क” मा पर्ने टिमको खेल हुप्रचौरमा भइरहेको छ । समूह “क” तर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्टले तुल्सी मेयर मेमोरियललाई २–० सेटले हराएको छ । यस्तै नवोदय स्कुलले श्रमिक माविलाई पनि २–० सेटले हराएको छ । यस्तै, जिएस निकेतनले भानु माविलाई २–१ सेटले पराजित गरेको छ । त्यस्तै जनप्रिय मावीले रिलायन्स स्कुललाई २–० सेटले हराएको छ ।

यस्तै, समूह “ख” मा पर्ने टिमको खेल आधुनिक राष्ट्रिय माविको चौरमा भइरहेको छ । समुह “ख” तर्फ महेन्द्र माविले जनक स्कुललाई २–० सेटले हराएको हो । त्यस्तै रुपनारायणले कर्मप्राप्तिलाई २–० सेटले हराएको हो । यस्तै, जनता मावि फापरबारीले जनता स्कुल सुकौरालाई २–० सेटले हराएको हो । यस्तै समूह “क” र “ख” का अन्य खेल भने जारी रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिमले सान्त्वनास्वरुप ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्ष नविन सिग्देल, भीमफेदी गाउँपालिकाको प्रमुख हिदम लामा, खेल संयोजक राजाराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।