Home मुख्य समाचार एकता दिवसको पुनरागमन

एकता दिवसको पुनरागमन

भौगोलिकरुपमा नेपाल एकीकरणको सुरुवात पृथ्वीनारायण शाहले गरेका हुन् । साना–साना राज्य रजौटाहरुले शासन गरेका विभिन्न भूगोलहरुलाई एकीकरण गरेर विशाल नेपाल निर्माणको सुरुवात पृथ्वीनारायण शाहले गरेका हुन् । नेपाल एकीकरणको सुरुवात गरेका कारण पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको उपमा दिइएको छ । उनै राष्ट्र निर्माताको जन्मदिनको अवसरमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ । २०६२/०६३ को राजनीतिक परिवर्तन अघिसम्म वर्षेनि सार्वजनिक विदा दिएर धुमधामसँग मनाइँदै आएको राष्ट्रिय एकता दिवस त्यसपछि ओझेलमा परेको थियो । राजतन्त्रको अन्त्य भएर संघीय गणतान्त्रिक शासन व्यवस्था लागू भएपछि राजाको जन्मदिनलाई दिवसको रुपमा मनाउने परम्परा अन्त्य गरिएको भए पनि पुनः राष्ट्रिय एकता दिवसको चर्चा सुरु भएको छ ।

धेरै वर्षसम्म राष्ट्रिय महत्व दिई मनाउन छाडिएको दिवस यस वर्षबाट फेरि मनाउने जमर्को गरिएको छ । राष्ट्रिय एकता दिवसको सन्दर्भमा उल्लेखनीय कार्यक्रम घोषणा नगरिए पनि नेपाल सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आज बुधबारलाई सार्वजनिक विदा दिएको छ । पुस २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पुस २७ गते देशभर तथा विदेशस्थित कूटनीतिक नियोगमा समेत सार्वजनिक विदा दिइएको सूचना पुस २६ गते गृह मन्त्रालयले जारी गरेको हो । वर्तमान सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीको मागबमोजिम प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएर राष्ट्रिय एकता दिवसको सम्झनालाई भने फेरि ताजा पार्ने प्रयास गरेर यसको पुनरागमन गरिएको छ ।

इतिहासको कुनै समयमा कमजोर अवस्थामा रहेका सानासाना राज्यहरु एकीकरण भई बलियो देश नेपाल बनेको कारण एकता दिवस मनाउनु सान्दर्भिक हुने देखिन्छ । विश्वका विभिन्न देशहरु अन्य देशको अधिनस्थ भएर स्वतन्त्र भएको खुशीयालीमा स्वतन्त्रता दिवस मनाउने गरेको भए पनि नेपाल कहिल्यै अन्य देशको अधिनमा नबसेको हुँदा हामीले एकता दिवसलाई एउटा राष्ट्रिय दिवसको रुपमा मनाउनु असान्दर्भिक हुँदैन । एसियाकै पुरानो स्वतन्त्र राष्ट्रको रुपमा रहेको नेपालमा १२५ भन्दा बढी जातजाति र भाषाभाषी छन् । एक दर्जनभन्दा बढी धार्मिक समुदायले नेपाललाई साझा फूलबारी मानेर शताब्दीयौंदेखि पारस्परिक सद्भावका साथ एकतासूत्रमा आबद्ध भएर बसेको गौरवमय इतिहास हाम्रो छ । इतिहासको त्यो गौरवलाई भावी पुस्तामा निरन्तरता दिन उत्साहित गर्ने महत्वपूर्ण उत्सवको रुपमा राष्ट्रिय एकता दिवसलाई लिन सकिन्छ । आजभन्दा ३ सय वर्षअघि सानो गोरखा राज्यमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरी विशाल नेपाल राज्यको निर्माण गर्न नायकीय भूमिका खेलेको प्रेरणादायी इतिहासलाई बिर्सन सकिँदैन । विखण्डित राज्यहरुलाई एकीकरण गरी स्वतन्त्र राज्यका रुपमा यसको अस्तित्व जोगाइराख्न पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाकै कारण आज हामी नेपाली भएर चिनिन सकेका हौं ।

देशको इतिहासलाई जगेर्ना गर्ने त्यसको प्रचारप्रसार गर्ने दायित्व राज्यको हो । राजतन्त्रको अन्त्य भएको भरमा र पृथ्वीनारायण शाह राजा भएकै कारण उनले गरेका असल कामलाई अवमूल्यन गर्नु उचित हुँदैन । इतिहास नै मेटाउने धृष्टता गर्दै राष्ट्रिय एकता दिवसको अपरिहार्यतालाई समेत अवमूल्यन भएको अवस्थामा राष्ट्रिय एकता दिवसको पुनरागमन गर्ने वर्तमान सरकारको प्रयास सकारात्मक छ । राष्ट्रिय एकता र अखण्डतालाई जीवित राख्दै यो दिवसलाई सार्थक बनाउनु आवश्यक छ । राष्ट्रिय एकतालाई मजबुत बनाउन र ऐतिहासिक धरोहरको जगेर्ना गर्न यो दिवस सार्थक बन्नुपर्छ । मुलुकको आन्तरिक राजनीतिक परिचालन, सत्ता स्थापना र सञ्चालनमा बाहिरी शक्तिका हस्तक्षेपकारी गतिविधि अन्त्य गरेर राष्ट्रिय अखण्डताको रक्षा गर्न सकेमा राष्ट्रिय एकता दिवस मनाउनुको सार्थकता रहन्छ ।

Exit mobile version