हेटौंडाः इन्द्रसरोबर गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सिस्नेरीमा भएको निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा वितरण तथा खाजा कार्यक्रममा १ सय १६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा १ सय १५ जनालाई निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, कार्यक्रममा १ सय ८७ जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडा नम्बर ३ मा २ सय ७८ जनालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य लिएको थियो । गाउँपालिकाले “सबैको ध्यान ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ कार्यक्रम संचालन गरेको हो ।
गाउँपालिका भित्र ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका एकल महिला तथा “क” वर्गको रातो परिचय पत्र भएका अपांगता समूहलाई लक्षीत गरी न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रम सामाजिक विकास समितिका संयोजक चन्द्र कुमार बलको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामा, वडा नम्बर ३ का अध्यक्ष प्रभात भोम्जन लगायतको उपस्थिति रहेको थियो ।
