हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी ५ औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । सोमबार बागमती–८, फापरबारीस्थित जनता माविको खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै मकवानपुर–११ ले विजयी सुरुवात गरेको हो ।

मकवानपुरलाई जित दिलाउन ललित चौलागाई र अनिष महर्जनले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच अनिष महर्जन घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । पुलिसका लागि रवि पाशवानले एक गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्र्तगत मंगलबार भोलिको खेलमा हिमालयण शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतियोपर्धा हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ ३ गते दिउँसो १ बजे हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।