हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ लक्ष्मी टोलका २० वर्षीय पवन कुमार श्रीवास्तब र सोही ठाउँका १७ वर्षीय अजय माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
बिहीबार बिहान ९ बजेर ३० मिनेटको समयमा हेटौंडा–१० बसपार्कस्थित पैदल हिँडिरहेको अवस्थामा शंका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी सहायक निरीक्षक नवीन बिक्रम थापा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले श्रीवास्तब र माझीलाई सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध ५ किलो गाँजा फेला पारेको जनाएको छ । लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।











