हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१७ सालकपार्कमा डलर देखाई ठगी गर्ने ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै डलर देखाएर ठगी गर्ने ४ जनालाई सार्वजनिक गरेको हो ।
बुधबार दिउँसो ३ बजेर २० मिनेटको समयमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विशेष सूचनाको आधारमा अवैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरु भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय सोम बहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवश डुम्जन, सोही गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय शेर बहादुर तामाङ र सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरा गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय देवा डुम्जन रहेका छन् । ठगीमा संलग्न एक जना भने फरार रहेको जिप्रका मकवानपुरका प्रहरी प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिनुभयो । उनको अहिले खोजी कार्य भइरहेको र नियन्त्रणमा लिएका ४ जनालाई सोधपुछ गरिरहेको एसपी गौतमले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर, ६ हजार २ सय १० नेपाली रुपैयाँ, कागजको नक्कली नोट ८ बन्डल, ५ थान मोबाइल र ३ थान गुलेली बरामद गरेको छ । पक्राउ परेका ४ जनालाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढीरहेको जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।











