हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले आगामी माघ महिनामा आयोजना गर्ने भनिएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको कपडा व्यवसायीले विरोध गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघकै वस्तुगत संघको रुपमा रहेको कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले व्यापार महोत्सवको विरोध गर्दै महोत्सवलाई प्रवद्र्धनात्मक तथा प्रदर्शनात्मक बनाउन माग गरेका छन् ।
कपडा तथा तयारी पोशाक व्यवसायी संघले मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी र हेटौंडा उपमहानगरपालिकाका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएर मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई व्यापार महोत्सवको रुपमा नभई प्रवद्र्धनात्मक महोत्सवको रुपमा मात्रै सञ्चालनका लागि सहजीकरण गरिदिन माग गरेको हो । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष नेत्रप्रसाद खतिवडाले बुधबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाउनु भएको छ ।
आर्थिक मन्दीका कारण व्यवसाय टाट पल्टने अवस्था आएका बेला व्यापार महोत्सवले जिल्लाका एक हजार कपडा तथा तयारी पोशाक व्यवसायी मारमा पर्ने उल्लेख गर्दै प्रवद्र्धनात्मक महोत्सव आयोजना गर्न संघले ध्यानाकर्षण गराएको छ । कपडा तथा तयारी पोशाकको व्यापार गर्ने गरी महोत्सवमा स्टल राखिए पेशागत हितमा जस्तोसुकै संघर्षको कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि २३ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गर्ने जनाएको छ ।