हेटौंडाः हेटौंडा अस्पतालमा चालु आर्थिक वर्ष २०७६/७७ को साढे ९ महिनाको अवधिमा सेवाग्राहीको संख्या एक लाख पुगेको छ । हेटौंडा अस्पतालमा एक वर्षको अवधिमा एक लाख सेवाग्राही पुगेको यो पहिलो पटक हो । आइतबारसम्ममा हेटौंडा अस्पतालमा सेवाग्राहीको संख्या एक लाख ९८ जना पुगेको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो एक महिना लकडाउनका कारण सेवाग्राहीको संख्यामा उल्लेख्य कमि आएको छ । लकडाउन नभएको भए दुईसाताअघि नै सेवाग्राहीको संख्या एकलाख पुग्ने अस्पताल प्रमुख डा. श्रेष्ठको भनाइ छ ।
चालु आर्थिक वर्षको हालसम्ममा हेटौंडा अस्पतालमा बहिरंग सेवा (ओपीडी) मा ७८ हजार चार सय ३९ जनाले सेवा लिएका छन् भने आकस्मिक सेवा (इमर्जेन्सी) मा २१ हजार छ सय ५९ जनाले सेवा लिएका छन् । यस अवधिमा नौं सय २१ जनाले शल्यक्रिया सेवा लिएका छन् । हेटौंडा अस्पतालमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा ९८ हजार चार सय ९१ जनाले सेवा लिएका थिए । बहिरंग सेवा (ओपीडी) मा ७८ हजार छ सय ४९ जनाले र आकस्मिक सेवा १९ हजार आठ सय ४२ जनाले लिएका छन् ।

पछिल्लो दुई वर्ष सेवाग्राही बढ्नुमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागु हुनु, अस्पतालभित्रै फार्मेसी सेवा विस्तार हुनु र हेटौंडा अस्पतालप्रति जनविश्वास बढ्नु मुख्य कारण भएको अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले बताउनुभयो । हेटौंडा अस्पतालले टिकट लिन टोकन प्रणाली लागु गर्नु, विशेषज्ञ चिकित्सकको उपलब्धता रहनु, नयाँ उपकरण र सेवा विस्तार हुनुले पनि सेवाग्राही बढेको उहाँको भनाइ छ ।
पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा हेटौंडा अस्पतालमा सेवाग्राहीको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७०/७१ मा ५६ हजार १४ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०७१/७२ मा ६८ हजार छ सय ३२ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष २०७२/७३ मा ७६ हजार पाँच सय ९७ जना, आर्थिक वर्ष २०७३/७४ मा ७५ हजार आठ सय ४८ जना र आर्थिक वर्ष २०७४/७५ मा ७८ हजार सात सय १० जनाले हेटौंडा अस्पतालमा सेवा लिएका थिए ।
एक सय २५ सैय्याको हेटौंडा अस्पतालमा अहिले महिला तथा प्रसुती, शल्यक्रिया, जनरल मेडिसिन, हाडजोर्नी, दाँत, नाक–कान–घाँटीलगायतका सेवा उपलब्ध छन् । प्रयोगशालासहित भिडियो एक्सरे, फार्मेसी सेवासमेत भएका कारण मकवानपुर जिल्लाका मात्रै नभई तराईका बारा, पर्सा, रौतहट, सर्लाही, चन्द्रनिगाहपुर, सर्लाही जिल्लाका विरामी पनि उपचारका लागि हेटौंडा अस्पताल आउने गरेका छन् ।