हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वृद्ध—वृद्धा, एकल महिला र अपाङ्ग, अशक्तहरूलाई सामाजिक भत्ता प्राप्त गर्दा लकडाउनले उत्पन्न गरेको आर्थिक समस्या समाधान गर्न मद्दत पुगेको छ । वडा नम्बर १२ ले वडामा शुक्रबारदेखि आजसम्म पनि वडाको टोल—टोल र घर—घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।
वडामा जम्मा ८ सय २३ जना सामाजिक सुरक्षा भत्ता लाभग्राही भएकोमा ६ सय जनालाई शनिबार र शुक्रबार वितरण गरिसकिएको १२ नम्बर वडा अध्यक्ष ललितबहादुर घलानले जानकारी दिनुभयो । उहाँका अनुसार वडाको रमनटार, आँप ढाप, सिस्नेरी, आलदमार लगातका टोलहरूमा घर—घरमा नै पुगेर वितरण गरिसकिएको छ । त्यस्तै पान्तले, गोठदमार र हात्तिगौडातिर आज वितरण गर्ने तयारी रहेको अध्यक्ष घलानले जानकारी दिनुभयो ।
लकडाउनले गर्दा बैंकले सामाजिक सुरक्षा भत्ता नदिएकोले स्थानीयलाई खाद्यान्न औषधी लगायतका समस्याबाट माथि उकास्न आफुहरुले हेटौंडा उपमहानगरपालिका र बैंकसँग समन्वय गरेर वडामा भत्ता वितरण गर्न थालिएको बताउनुभयो । हाल सरकारले सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वृद्धवृद्धा र पूरा अपाङ्गलाई १२ हजार, एकल महिला र दलितलाई ८ हजार र आंशिक अपाङ्गलाई ६ हजार रुपैयाँ प्रदान गरिरहेको छ ।