हेटौंडा अस्पतालको निर्माणाधिन भवनमा काम गर्दै मजदुरहरु ।

हेटौंडाः लकडाउनको घोषणासँगै बन्द भएको हेटौंडा अस्पतालको निर्माणाधिन भवनको काम लकडाउन जारी रहँदा नै सुचारु भएको छ । लकडाउनका कारण एक महिना निर्माण कार्य रोकिएको थियो । एक महिनापछि निर्माण कार्य सुचारु भएसँगै २० देखि २५ जना मजदुर निर्माणमा खटिएका छन् । करिब ८० जनाले काम गर्नुपर्ने भए पनि लकडाउनका कारण कामदारको कमि भएको निर्माण कम्पनिका प्रतिनिधि निपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
लकडाउनको घोषणासँगै काम रोकिएपछि कामदार घर–घर गएसँगै रोकिएको निर्माण कार्य सुचारु गर्ने क्रममा मजदुर जुटाउन सजिलो नभएको निर्माण कम्पनिको भनाइ छ । अहिले आवश्यक जनशक्ति नभए पनि काम सुचारु गरिएको र क्रमशः मजदुर बढाउँदै लैजाने निर्माण कम्पनिका प्रतिनिधि कार्कीले बताउनुभयो । लकडाउनको घोषणासँगै घर गएका मजदुरलाई बोलाउँदा पारिवारिक दबाव र उनीहरुलाई आउन यातायातको साधनको अभावले समस्या भएको उहाँको भनाइ छ ।
हेटौंडा अस्पतालको ७० सैय्याको भवन निर्माणको कार्य आशिष एण्ड डिएस जेभीले गरिरहेको छ । सन् २०१७ को नोभम्बर २३ मा निर्माण सम्झौता भएर सन् २०२० को मे महिनाको १९ तारेखमा निर्माण कार्य पूरा गर्नुपर्ने सम्झौता रहेको थियो । भ्याट र कन्टिन्जेन्सी बाहेक २८ करोड १६ लाख ६९ हजार ६ सय ७४ रुपैयाँमा निर्माण कम्पनिले हेटौंडा अस्पतालको भवन निर्माणको ठेक्का पाएको हो ।