कार्यशालाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा ।

हेटौंडाः शुक्रबार नेपालका शिक्षक संघ, संगठन र स्थानीय सरकारबीच १६ बुँदै सहमति भएको छ । नेपालका शिक्षक संघ, संगठन र जिल्लाका दुई स्थानीय तहहरु हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच संवाद र सहकार्य गर्दै सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न र गराउने भन्ने विषयमा सहमति भएको हो ।

बिहीबारदेखि सुरु भएको २ दिने संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यशालाको समापनको दिन हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामा उक्त सहमति पत्र योग्य रहेको बताउनुहुँदै हस्ताक्षर गर्नुभएको छ । यस्तै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, इस्टु मकवानपुरका अध्यक्ष सचिन लामा, नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

अनिवार्य निशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा एवम् सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत् शिक्षक कर्मचारीका पेसागत हल गर्नका लागि शैक्षिक संवादलाई क्रियाशील बनाउने भन्दै सहमति गरिएको बताएको छ । जसमा हेटौंडा र मकवानपुरगढीमा सञ्चालित विद्यालयमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गरिने उल्लेख गरिएको छ । संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गरिने सहमति भएको छ ।

सहमति पत्रमा पालिकाभित्र बसोबास गर्ने कुनै पनि बालबालिकालाई विद्यालय तहको शिक्षा आर्जन गर्नबाट वञ्चित नगरिने उल्लेख गरिएको छ । विद्यालयमा प्रदान गरिंदै आएको दिवा खाजालाई अझ व्यावहारिक पोषणयुक्त र पर्याप्त बनाइने, बालमैत्री, अपाङ्गमैत्री तथा महिलामैत्री विद्यालय बनाउनका लागि लगानीमा वृद्धि गरिने सहमति भएको छ । प्रविधिमैत्री विद्यालय पोसाक छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा न्यायिक विद्यालय स्थापनामा जोड दिइने, संवैधानिक व्यवस्थाअनुसार संघीय र प्रदेश शिक्षा ऐनसँग अनुकूल हुने गरी समयसापेक्ष शिक्षक र विद्यार्थीमैत्री शिक्षा ऐन, नियमावली ल्याई संशोधन गरिने बताएको छ ।

यसैगरी शिक्षकहरूलाई प्रविधि प्रशिक्षण र आवश्यक पेसागत विकास तालिम प्रदान गरिने, बजेट निर्माणमा स्थापित चरण र प्रक्रिया पालना गर्दै विद्यालय विकासका लागि आवश्यक बजेट विनियोजन गरिने, यसअघि निम्न आय भएका विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क उच्च शिक्षा अध्ययनका लागि गरिएको व्यवस्थालाई निरन्तरता दिइने उल्लेख गरिएको छ । शिक्षक सुत्केरी बिदामा बस्दा पठनपाठनको निरन्तरताका लागि बिदा अवधिको समयमा विद्यालयमा स्वयमसेवक शिक्षकको व्यवस्था गरिने सहमति भएको छ । यस्तै सहमति पत्रमा १० बर्षे शिक्षा योजना बनाई कार्यान्वयनमा ल्याइने, भयरहित सिकाइ वातावरण निर्माणका लागि आश्यक वातावरण निर्माण गरिने उल्लेख गरिएको छ ।

जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग लड्दै पर्यावरणमैत्री वातावरण निर्माणका लागि कदम चालिने र गुणस्तरीय शिक्षा एवम् भयरहित शैक्षिक वातावरणका लागि शिक्षाका पेशागत संघ, संगठनपूर्ण प्रतिबद्वता गरिने भन्दै सहमति भएका छन् । उक्त बुँदाहरुमा सहमति जनाउनुहुँदै नगरप्रमुख लामाले गुणस्तरीय शिक्षालाई सामाजिक, नैतिक र पारिवारिक रुपमा जोड्नुपर्ने बताउनुभयो । इस्टुका केन्द्रीय अध्यक्ष होमकुमार थापाको सभाध्यक्ष तथा मेयर लामाको प्रमुख आतिथ्यामा कार्यशाला समापन भएको हो । कार्यक्रममा इस्टुका केन्द्रीय महिला सचिव कुस्मिता तिवारी, केन्द्रीय कोषाध्यक्ष इन्दिरा धमला, केन्द्रीय सदस्य सुदिप बर्तौला, नेपाल शिक्षक संगठनकी लक्ष्मी गजुरेल, इस्टुका केन्द्रीय उपाध्यक्ष दीपक गौतम, इस्टुका नगर अध्यक्ष सीएम रिमाल, सिआइ कन्सल्टेन्ट सागरनाथ प्याकुरेललगायतको आतिथ्य रहेको थियो ।