
हेटौंडाः मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्नुअघि हेटौंडामा समीक्षा कार्यक्रम भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सन् २०२२ भर जिल्लामा भएका मानवअधिकार उल्लघंनका घटनाको विवरण प्रस्तुत गरी त्यसमा आवश्यक समीक्षा गरिएको हो । इन्सेकले अंग्रेजी वर्षअनुसार मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । शनिबार हेटौंडामा मकवानपुर जिल्लाको सन् २०२२ को मानव अधिकारको स्थितिबारे समीक्षा भएको छ ।
समीक्षाका क्रममा मकवानपुर जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७० वटा घटनामा राज्यपक्षबाट ७ जना र अन्य पक्षबाट ६६ जना मानिस पीडित भएको इन्सेक मकवानपुरका प्रतिनिधी पुष्पराज अधिकारीले जानकारी दिनुभयो । जसमध्ये ५० जना महिला, २२ पुरुष र १ जना लैंगिक तथा अल्पसंख्यक महिला पीडित भएका छन् । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना यौन दुव्र्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको छ ।
इन्सेकको अभिलेखालयमा गतवर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ वटा घटनामा अन्य पक्षबाट ७८ जना पीडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भए । बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुव्र्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका छन् ।
गतवर्षको तथ्याङ्कसँग यस वर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा खासै अन्तर नभएको अधिकारीले बताउनुभयो । इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।










