हेटौंडाः मुक्तक मञ्च मकवानपुरको वार्षिकोत्सवमा ३ जना स्रष्टालाई सम्मान गरिएको छ । शनिबार हेटौंडास्थित साहित्य संगमको सभाहलमा भएको मञ्चको पहिलो वार्षिकोत्सवमा सिन्धुली जिल्लाका मुक्तककार लोकेन्द्र डहरे, मकवानपुरका देवराज खरेल र समर्पण न्यौपानेलाई सम्मान गरिएको हो ।
सिन्धुलीका डहरेलाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित “बहादुरनन्द स्मृति मुक्तक सम्मान–२०७९” समर्पण गरिएको हो । उक्त सम्मान मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबि बर्तौलाले स्थापना गर्नुभएको हो । त्यस्तै मकवानपुरका अग्रज मुक्तककार देवराज खरेललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित “तारादेवि स्मृति मुक्तक सम्मान–२०७९” प्रदान गरिएको छ । तारादेवि स्मृति मुक्तक सम्मान मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलले स्थापना गर्नुभएको हो ।
त्यस्तै माध्यमिक विद्यालयस्तरीय मुक्तक प्रतियोगितामा जिएस निकेतनका समर्पण न्यौपानेलाई सर्वोत्कृष्ट मुक्तकार घोषित गरी समन गरिएको छ । न्यौपानेलाई नगद ५ हजार १ रुपैयाँसहित “इन्दिरादेवी स्मृति मुक्तक सम्मान–२०७९” प्रदान गरिएको हो । इन्दिरादेवी स्मृति मुक्तक सम्मान मुक्तककार तथा गजलकार श्रीराम अधिकारीले स्थापना गर्नुभएको हो ।
वार्षिकोत्सवको अवसर तथा छैठौं मुक्तक वाचन शृंखला अन्तर्गत १५ जनाले मुक्तक वाचन गरे । वार्षिकोत्सव कार्यक्रम मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता तथा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेसहित साहित्यकार, विद्यार्थीको उपस्थिति रहेको थियो ।