विद्यार्थीलाई वितरण गरिएको न्यानो कपडा लगाएर सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–६, गौरिटारस्थित बालजागृति युवा वर्ष माविका शिक्षकहरुले मध्य जाडोमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । नियमित ज्ञान बाँड्दै आएका शिक्षकले मध्य जाडोमा विद्यार्थीलाई न्यानो कोसेलीको रुपमा बिहीबार न्यानो कपडा स्वेटर वितरण गरेका हुन् ।

विद्यालय शिक्षकहरु सरस्वती चौलागाईं, गंगादेवी श्रेष्ठ र निरा कुमारी श्रेष्ठले १ कक्षादेखि ५ कक्षासम्मका सबै विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । बालजागृति युवा वर्ष माविमा कक्षा १ देखि ५ सम्म एक सय विद्यार्थी अध्ययनरत छन् । यस्तै बिहीबार नै स्वास्थ्य जागरण तथा ग्रामीण विकास कार्यक्रम नामक संस्थाले कक्षा ६ र ७ कक्षामा अध्ययनरत ५५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

यसअघि बुधबार जुत्ता, चप्पल व्यवसायी संघ मकवानपुरले बालजागृति युवा वर्ष माविमा प्रारम्भिक बाल विकास कक्षामा अध्ययनरत २५ जना बालबालिकालाई स्वेटर, मोजा र जुत्ता हस्तान्तरण गरेको थियो । विपन्न समुदायका बालबालिकालाई सहज सिकाईका लागि आवश्यक सहयोग जुटाउने प्रयास भइरहेको र यसबाट बालबालिकाले अध्ययन गर्ने वातावरण थप अनुकुल बन्दै जाने विश्वास लिइएको विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले बताउनुभएको छ । सहयोगी सबैप्रति आभार व्यक्त गर्नुहुँदै विद्यालयका शिक्षकहरुबाटै सहयोग प्राप्त हुनु अझ सकारात्मक भएको उहाँको भनाइ छ ।