हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ वडास्तरीय कार्यक्रम कार्यान्वयनमा प्रथम भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक वडास्तरीय कार्यक्रम कार्यान्वयनमा ९७.३८ प्रतिशत वित्तीय प्रगति हासिल गरी प्रथम भएको १४ नम्बर वडालाई उपमहानगरले पुरस्कारस्वरुप २० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
यस्तै वित्तीय प्रगतिका आधारमा १५ नम्बर वडा द्वितीय भएको छ । १५ नम्बर वडाले ९७.०६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ । उपमहानगरपालिकाले १५ नम्बरलाई पुरस्कारस्वरुप १५ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिको १२ औं नगरसभाको अवसरमा बिहीबार उपमहानगरका १९ वटा वडामध्ये प्रथम र द्वितीय घोषणा गरेको हो ।









