देशभर चिसो बढेको छ । हिउँदमा चिसो हुनु स्वभाविक भए पनि एक्कासी बढेको चिसोले जनजीवन प्रभावित बनिरहेको छ । पुस लागेसँगै बढ्दै गएको चिसो पुसको दोस्रो साता आइपुग्दा निकै बढेको छ । चिसोले तराई मधेशका कतिपय क्षेत्रको जनजीवनलाई प्रभाव पारेको छ । चिसो बढेसँगै गरिब र निमुखा नेपालीको जीवन कष्टकर बन्ने गर्दछ । हिमाली भागमा चिसो बढी हुने भए पनि चिसोबाट मुलुकको तराई मधेश क्षेत्रसमेत उत्तिकै प्रभावित हुने गरेको छ । जाडो समयमा तराई मधेशमा शीतलहर चलेर जनजीवन कष्टकर बन्ने गरेको छ । तराीइ मधेशमा केही दिनदेखि जाडो बढिरहेको भए पनि देशको राजधानी काठमाडौं तथा बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट चिसो निकै बढेको छ । हेटौंडामा बुधबार दिनभर सामान्य घाम लागेको भए पनि चिसो हावा चलेका कारण निकै जाडो महसुस गरिएको छ । साँझ बिहानमात्र जाडो हुने गरेको हेटौंडा क्षेत्रमा बुधबार दिउँदै चिसोले प्रभावित बनाएको थियो ।

मुलुकमा चिसोका कारण थुप्रै नागरिकले ज्यान गुमाउने गरेका छन् । चिसो बढेसँगै कयौं नेपालीको जीवन कष्टकर बन्दै जान्छ । हिउँदमा चिसो हुनु, शीतलहर चल्नु, हिमपात हुनु सामान्य मौसमी परिवर्तन हो । तर, यही कारण कुनै पनि मानिसको मृत्यु हुनुलाई सामान्य अवस्था मान्न सकिँदैन । कुनै पनि समाज र देशका लागि यो कलंक मानिन्छ । अझ लोककल्याणकारी राज्यका लागि यसरी अनाहकमा आफ्ना नागरिकको ज्यान जानु सह्य मानिँदैन । उष्ण हावापानीको क्षेत्रमा चिसोकै कारण मानिसको ज्यान जाने अवस्थालाई कुनै आधारमा स्वीकार गर्नु उचित देखिँदैन । धनी र हुनेखानेका लागि चिसो मौसम रमाइलो हुने भए पनि गरिब र हुँदाखानेका निम्ति निकै कठिन हुने गरेको छ । आर्थिकरुपमा विपन्न र खाने, बस्ने राम्रो प्रबन्ध नभएका नेपालीसँग चिसोबाट बच्ने उपाय अपनाउन गाह्रो हुने गरेको छ । यसरी भोको पेटमा कठ्याङ्ग्रिएर चिसोसँग संघर्ष गर्नुपर्ने अवस्था कसैको बन्नु हुँदैन ।

चिसोबाट बच्ने विभिन्न उपायहरु छन् । चिसोबाट आम नागरिक बच्न र बचाउन सकिन्छ । यसका लागि समुदायस्तरमा व्यापक सचेतना, सजगता र पूर्वतयारी हुनुपर्छ । चिसोबाट बढी प्रभावित बनेका र बन्न सक्ने व्यक्तिहरुलाई उचित भोजन, तातोका लागि न्यानो लुगा तथा दाउरा आदिको व्यवस्था विभिन्न तहको सरकारले गरिदिन सक्नुपर्छ । चिसोका कारण उत्पन्न हुनसक्ने प्रकोपको सामना गर्न पूर्वतयारी गर्नुपर्छ । चिसोबाट बच्न आम नागरिकले पनि सजग र सचेत भएर सोहीअनुकूलका व्यवहार गर्नुपर्दछ । यति गर्ने हो भने चिसाकै कारण ज्यान गुमाउनुपर्ने अवस्था नआउन सक्छ । चिसोबाट अति प्रभावित क्षेत्रका केही विपन्न परिवारलाई सरकारी तथा गैरसरकारी निकायले न्यानोका लागि कपडालगायत केही सामग्री उपलब्ध गराउने गरेको भए पनि त्यो पर्याप्त छैन ।

चिसोका कारण विभिन्न रोगहरुको संक्रमणको सम्भावना पनि बढी हुने गर्दछ । चिसोबाट उमेरगत हिसाबमा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गर्दछन् । चिसोबाट बच्न यिनै उमेरसमूहका व्यक्तिहरुलाई सचेत बनाउनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ । तीनै तहको सरकार र त्यस मातहतका स्वास्थ्यसम्बन्धी निकाय र कार्यालयहरु यसबारे चनाखो बन्नुपर्छ । चिसोले बढी प्रभावित बनाउने क्षेत्र र वर्गको पहिचान गरी उनीहरुलाई सचेतनासँगै सरकारले आवश्यक सहयोग गर्नुपर्छ । संघ, प्रदेश तथा स्थानीय तहका सरकारले आपसमा समन्वय तथा सहकार्य गरी विपन्न परिवारलाई चिसोबाट जोगाउन प्रभावकारी कार्य गर्नु आवश्यक छ ।