बालकको हत्या अभियोगमा पक्राउ परेका भोम्जन ।

हेटौंडाः हेटौंडा–१६ बाबेडाँडाका १२ वर्षीय बालक मुस्कान थिङको हत्यामा संलग्न व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले हेटौंडा–१६, बाबेडाँडाका ३८ वर्षीय आइत सिं भोम्जनलाई हत्यामा संलग्न पाइएको भनी पक्राउ गरेको छ । भोम्जनलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।

सोधपुछको क्रममा भोम्जनले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । मुस्कानले आफूलाई जिस्काएपछि आक्रमण गर्दा संवेदनशील अंगमा लागेर मुस्कानको मृत्यु भएको भोम्जनले स्वीकारेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ । पक्राउ परेका भोम्जनलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट अनुमति पाएको उहाँले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेको पुष्टि भए भोम्जनलाई जन्मकैदसम्मको सजाय हुनेछ ।

आइतबार बिहान झुण्डिएको अवस्थामा मुस्कान मृत फेला परेका थिए । मुस्कानको हात बाँधिएको पाइएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो । तालिम प्राप्त कुकुरको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिसँग सोधपुछ गरेको प्रहरीले जनाएको छ । घरबाट तीन सय मिटर पश्चिममा रहेको सामुदायिक वनमा रुखमा कपडाको डोरीको पासो लगाई झुण्डिएर मुस्कानको मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी खटिएको थियो ।