हेटौंडाः नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । आज प्रदेश नम्बर १ को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा आज साँझ पौने ८ बजेको समयमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थप एकजनामा कोरोना पुष्टि भएको जानकारी गराउनुभएको हो । झापा जिल्लाका ६२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितमध्ये १० जना निको भइसकेका छन् भने नेपालमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।