मलसहित बराबर ट्याक्टर ।

हेटौंडाः बारा प्रहरीले ९० बोरा खाद मलसहित २ जनालाई पक्राउ गरेको छ । सरकारले अनुदानमा उपलब्ध गराएको खाद मल सहकारीले व्यवसायीसँगको मिलेमतोमा कालोबजारी गर्न खोजेको भन्ने सूचनाका आधारमा प्रहरीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२ स्थित माँ गायत्री खाद भण्डारका महेन्द्र साह तेली र मल ढुवानी गर्ने ट्याक्टर चालक २८ वर्षीय रामबाबु पण्डितलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आज दिउँसो साढे १२ बजे पक्राउ गरिएको हो ।
बिश्रामपुर गाउँपालिका वडा नम्बर २ स्थित माँ गायत्री खाद भण्डार पसलमा ना ६ त ७३६८ नम्बरको ट्रयाक्टरमा मलखाद लोड गरी ल्याई कालो बजार गर्नको लागि लुकाई छिपाई अनलोड गरिरहको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले ४० बोरा मलखाद अनलोड गरिसकेको अवस्थामा र प्रहरीले खानतलासी गर्दा अनलोड गरिसकेको ४० बोरा युरिया मल र उक्त ट्रयाक्टरमा लोड गरी राखेको १० बोरा युरिया मल, डीएपी मल ३० बोरा र सलफेट मल १० बोरा बरामद गरेको बताइएको छ ।
प्रहरीले ट्रयाक्टर चालकको साथमा बारा जिल्लाको प्रसौनी–६ स्थित अतिथि कृषि सहकारी संस्था लिमिटेडको नाममा मल खरिद गरेको बिल दुई थान र माँ गायत्री खाद भण्डार प्राईभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी समेत बरामद गरेको छ । बरामद मल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बीरगंजबाट अनुदानमा अतिथि कृषि सहकारी संस्था लिमिटेडको नाममा बिक्रि भएको पाइएको प्रहरीले स्पष्ट पारेको छ । अनुदानमा खरिद गरेको मल कालोबजारी गर्ने उद्देश्यले अतिथि कृषि सहकारी संस्था लिमिटेडका संचालकले माँ गायत्री खाद भण्डारका संचालकलाई उपलब्ध गराएको प्रहरीले दावी गरेको छ ।