हेटौंडाः जेसीआई बसामाडीको आयोजनामा भएको २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको छ । शनिबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा आग्रा स्पोर्ट्स क्लबले विनयवावु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै उपाधि हात पारेको हो ।
फाइनल खेलमा आग्र्राले विनयवावुलाई २५–२०, २६–२४ र २६–२४ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै आग्राले ६५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता विनयवावुले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आग्राका पुजन गुरुङ घोषित हुँदा उत्कृष्ट स्पाइकर आग्राकै रमेश थिङ र सञ्जय थिङ घोषित भए ।
प्रतियोगितामा सहभागिता ७ वटा टिम मध्ये बज्रबाराही युवा क्लब अनुशासित टिम घोषित भयो । प्रतियोगितामा विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र जेसीआई बसामाडीका अध्यक्ष चिराग अग्रवालले नगद तथा पुरस्कार वितरण गर्नुभयो । भलिबल प्रतियोगिता सरोज पौडेलको संयोजकत्वमा भएको हो ।