अटो मोबाइल एसोसिएसन मकवानपुरका निवर्तमान अध्यक्ष सागर सापकोटा ।

बैंकले ल्याएको मौद्रिक नीतिका कारण अटो मोबाइल एसोसिएसनले अहिले आन्दोलन गरिरहेको छ । व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने लगायतका मागसहित एसोसिएसन आन्दोलनमा उत्रिएको हो । आन्दोलन गर्नुको कारण, समाधान, राज्यको भूमिकालगायतका विषयमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले अटो मोबाइल्स एसोसिएसन मकवानपुरका निवर्तमान अध्यक्ष सागर सापकोटासँग गर्नुभएको कुराकानीः

समाजः अहिले अटो मोबाइल एसोसिएसनले विषेशगरी बैंक तथा बित्तीय संस्थाको ब्याजदरको विषयलाई लिएर आन्दोलन गरिरहेको छ, यो आन्दोलन गर्नुपर्ने स्थिति आउनुको कारण के हो ?

सापकोटाः बास्तबमा अटो मोबाइल्स क्षेत्र भनेको राज्यलाई सबैभन्दा बढि कर तिर्ने र रोजगारी सृजना गरेको क्षेत्र हो । तर, यो सबै हुँदाहुँदै पनि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले गर्दा अटोे मोबाइल व्यवसायहरु टिक्न नसक्ने अबस्थामा पुगेको र शोरुमहरु बन्द गर्नुपर्ने अवस्था आएको छ । त्यसकारण हामी आन्दोलनमा उत्रिएका हौं ।

समाजः यो परिस्थितिमा सरकारले के गरिदियो भने तपाईहरुलाई सजिलो हुन्छ ?

सापकोटाः सरकारले सबैभन्दा पहिला व्यवसायमैत्री वातावरण बनाउनुपर्छ । राष्ट्र बैंकले लिएको मौद्रिक नीतिले गर्दा व्यवसायलाई ब्याजदरको अत्याधिक चाप परेको छ । ब्याजदर लगभग डबल भइसक्यो । नाफाको अनुपात दश प्रतिशतमा झरिसक्यो । जसले गर्दा काम र ब्याजदरको अनुपात मिल्न सकेन । त्यसकारण सरकारले राष्ट्र बैंकमार्फत् हस्तक्षेप गरेर हुन्छ या अरु तरिकाले हुन्छ, ब्याजदरलाई सिङ्गल डिजिटमा झार्नुपर्छ ।

समाजः पहिलो चरणको आन्दोलन सकेपछि अब दोस्रो चरणको आन्दोलनको स्वरुपचाहिँ कस्तो हुन्छ ?

सापकोटाः अटो मोबाइल एसोसिएसन नेपाल (नाटो)को नेतृत्वमा देशभरिको सातवटै प्रदेशमा धर्ना कार्यक्रमसँगै हामीले पहिलो चरणको आन्दोलनको अन्त्य गरेका छौं । नाटोको केन्द्रीय कमिटी बैठक बसेर दोस्रो चरणको आन्दोलनको स्वरुप तयार गर्नेलगायत विभिन्न निकायहरुसँग छलफल गर्र्छाैं । हामी व्यवसायीहरुले आन्दोलन रहरले गरेका होइनौं । निकासको बाटो नपाएकाले हामीले बाध्य भएर आन्दोलन गरेका हौं ।

समाजः सरकारले चाहेर पनि गरेको छैन कि सरकार पनि दबाबमा छ ? कसरी बुझ्नुभएको छ तपाईंहरुले ?

सापकोटाः अटो मोबाइल आयात गर्दा सरकारलाई ठूलो मात्रामा कर संकलन हुन्छ । सरकारको कर संकलनको प्रमुख स्रोत भनेको अटो मोबाइल्स व्यवसाय हो । त्यसले गर्दा सरकारले हिजोमात्रै चाहेर वा नचाहेर आयात प्रतिबन्ध फुकाएको छ । यहाँको व्यवसाय गर्ने अन्य प्रक्रियाहरु, व्यवसाय गर्ने वातावरण, बैंकको प्रक्रियाहरुले गर्दा व्यवसाय गर्न सक्ने अवस्था छैन । त्यसले गर्दा यी सबै कुराहरुलाई ध्यानमा राखेर राष्ट्र बैंकले लिएको मौद्रिक नीतिमा पनि अहिलेको अवस्थाअनुसार अटो मोबाइल व्यवसायको महत्वलाई विश्लेषण गर्नुपर्दछ ।