हेटौंडाः हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा तथा एचएलए, सीडीसी क्रस म्याच विस्तारका लागि सम्झौता भएको छ । हेटौंडा अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच मंगलबार सम्झौता भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको विशेष आतिथ्यमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा वार्षिक करिब ३ हजार जनाको मिर्गौलासम्बन्धी गम्भीर समस्या देखिनुका साथै १ हजार जनाको कलेजोसम्बन्धी गम्भीर समस्या हुने गरेको छ । कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भए पनि आवश्यकताभन्दा कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको बताइएको छ । काम नगर्ने मिर्गौलाहरु प्रत्यारोपण नहुँदासम्म डायलासिस सेवा पाउन नसक्ने जानकारी दिइयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण सेवाको थप विस्तार र सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सरकारको योजना रहेको छ । यसैअनुरुप संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल हेटौंडाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको पनि उपस्थिति रहेको थियो ।