गाउँपालिकाले किनेको टिपर पालिकाको कार्यालय अगाडि ।

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाले पूर्वाधार विकासका लागि टिपर खरिद गरेको छ । गाउँपालिकाले ४८ लाख रुपैयाँ बराबरको टाटा मोटर्सको टिपर खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुुसार विकास निर्माणको सुरुवाती चरणमा रहेको कैलाश गाउँपालिकामा टिपर सहयोगी हुनेछ । उहाँले भन्नुभयो, ‘कैलाश गाउँपालिका सडक निर्माण र पूर्वाधारको क्षेत्रमा पछाडि नै रहेको छ । पूर्वाधार निर्माणमा टिपरको धेरै आवश्यक महसुस भएर नै बैठकमा छलफल गरी टिपर खरिद गरिएको हो ।’ कैलाश गाउँपालिकामा सडकमा खाल्डाखुल्डी धेरै रहेको भन्दै उहाँले बाटो निर्माणको चरणमा रहेकाले पनि टिपर आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँपालिकासँग आफ्नै जेसीवी छ । टिपर पनि आफ्नै भएमा काम गर्न थप सहज हुन्छ । वर्षाको समयमा दैनिक बाटोमा पहिरो जाने कारण बाटो अबरुद्ध हुने गरेको थियो । बाटो खुलाउन भाडाको गाडी ल्याउन धेरै बजेट खर्च गर्नुपर्ने हुन्छ । त्यसैले हामीले टिपर खरिद गरेका छौं ।’ टिपर खरिदपश्चात् बाटो मर्मत गर्न र ग्राभेलिङ गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । गाउँपालिकामा अन्य स्थानीयलाई टिपर र जेसीवी आवश्यक परेमा समितिमा निवेदन दिएर राजश्व शाखामा राजश्व तिरेपछि सबैले प्रयोग गर्न पाउने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले खरिद गरेको टिपर बिहीबारबाट सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।