अभिमुखीकरणमा सहभागीहरु ।

हेटौंडाः वडाध्यक्षहरुका लागि स्थानीय सरकार संचालन र सेवा प्रवाह सम्बन्धी २ दिने अभिमुखीकरण आज (बुधबार) बाट सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सुरु भएको अभिमुखीकरणको जिसस मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा बागमती प्रदेश सुशासन केन्द्रको सहजीकरणमा अभिमुखीकरण कार्यक्रम भएको हो ।

अभिमुखिकरणमा जिल्लाका ६ वटा स्थानीय तहका वडाध्यक्षहरुको सहभागिता रहेको छ । अभिमुखीकरणमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका र भिमफेदी गाउँपालिका वडाध्यक्षहरु सहभागी छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका वडाध्यक्षहरुलाई मंसिर २३ र २४ गते अभिमुखिकरण गरिने जनाएको छ ।

अभिमुखीकरणमा सहजीकरण गर्नुहुँदै सहसचिव शिवराम गेलाल ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह–सचिव शिवराम गेलालले सहजीकरण गरिरहनु भएको छ । गेलालले पहिलो दिनको पहिलो सत्रमा वडाध्यक्ष काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुभएको छ । यस्तै उहाँले दोश्रो सत्रमा वडाबाट गरिने सिफारिस सम्बन्धी जानकारी गराउनुभएको छ ।

अभिमुखीकरणको पहिलो दिन तेस्रो सत्रमा सर्जमिन मुचुल्काको अवधारणा र सर्जमिन मुकुल्का तयार गर्दा ध्यान दिनुपर्ने विषयहरु तथा चौथो सत्रमा स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयनमा वडा समितिको भूमिका र उपभोक्ता समिति गठन तथा परिचालन सम्बन्धमा वडाध्यक्षहरुलाई जानकारी गराइने छ । जिसस मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षामा भएको अभिमुखीकरणमा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल, सदस्यहरु सुनिता परियारलगायतको आतिथ्य रहेको थियो ।