हेटौंडाः पशुपतिनाथ माविले स्थापनाको ४८ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमलाई सम्मान गरिएको छ । विद्यालयका शिक्षक परिवारको तर्फबाट प्रधानाध्यापक भानुभक्त आचार्यले अध्यक्ष गौतमलाई कदरपत्रद्वारा सम्मान गर्नुभयो । मनहरी–४ का वडाअध्यक्ष थापाले अध्यक्ष गौतमलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिमा रहेर उत्कृष्ट कार्य गरेको भन्दै केही महिनाअघि बागमती प्रदेश सरकारले अध्यक्ष गौतमलाई प्रदेश दीपप्रदान गरेको थियो । अध्यक्ष गौतम पछिल्लो ६ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर विद्यालयमा योगदान गरिरहनुभएको छ । अध्यक्ष गौतमको योगदानको कदर गर्दै गाउँपालिकाले शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको छ ।
कक्षा १ देखि १० सम्मका बालबालिकालाई विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीलाई वडाअध्यक्ष प्रकाश थापाले पुरस्कृत गर्नुभयो । २०२७ सालमा स्थानीय समाजसेवीहरुले ब्यक्तिगत खर्चबाट संचालन गरेको विद्यालयलाई २०३२ साल मंसिर १५ गतेका दिन तत्कालिन सरकारले अनुमति दिएको थियो । पछिल्लो एक दशकदेखि विद्यालयले नियमित रुपमा स्थापना दिवस मनाउँदै आएको छ ।











