प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिसकेपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः जेसीआई हेटौंडाको आयोजनामा भएको पब्लिक स्पिकिङ २०२२ मा मकवानपुरकी कूसुम खड्का द्वितीय हुनुभएको छ । शनिबार हेटौंडामा भएको पब्लिक स्पिकिङ २०२२ को फाइनलमा “नेपाली राजनीतिको वैचारिक धरातल” विषयमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा कपिलवस्तुकी गरिमा घिमिरे प्रथम हुँदा चितवनका आकाश कार्की तृतीय हुनुभयो । प्र्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको मुख्य निर्णायकको भूमिका मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक घनश्याम घिमिरेले गर्नुभयो । यस्तै अन्य निर्णायकहरुमा दीपक राज मिश्र, निमेष निखिल र निरा शर्मा रहनुभएको थियो । कार्यक्रमको सहजीकरण जेसीआई हेटौंडाका महासचिव विकेशलाल श्रेष्ठले गर्नुभयो ।

जेसीआई हेटौंडा वर्ष २०२२ का अध्यक्ष पवन कुमार कंसाकरको सभाध्यक्षता तथा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पब्लिक स्पिकिङ २०२१ की विजेता रिमा काफ्ले लगायतको आतिथ्य रहेको थियो ।