हेटौंडाः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मकवानपुरको मत गणना सम्पन्न भएको छ । मतपरिणाम अनुसार मकवानपुरमा नेकपा एमालेले बढी मत प्राप्त गरेको छ ।
एमालेले मकवानपुरको दुई निर्वाचन क्षेत्र गरी ५० हजार ८ सय ७ मत प्राप्त भएको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ ९१ हजार ५ सय २७ मत खसेकोमा एमालेले २२ हजार ६ सय ११ मत प्राप्त गरेको छ । यस्तै क्षेत्र नम्बर २ मा ८६ हजार ३ सय ३८ मत खसेकोमा एमालेले २८ हजार १ सय ९६ मत प्राप्त गरेको छ ।
यस्तै नेपाली काङ्ग्रेसले क्षेत्र नम्बर १ मा १४ हजार ७ सय ५६ मत र क्षेत्र नम्बर २ मा २१ हजार ५ सय ११ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले क्षेत्र नम्बर १ मा १३ हजार १ सय ३८ मत र क्षेत्र नम्बर २ मा १२ हजार ५ सय ९५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा १८ हजार ६ सय र क्षेत्र नम्बर २ मा ११ हजार २ सय ८२ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ १३ हजार ८२ र क्षेत्र नम्बर २ मा ३ हजार ५९ मत प्राप्त गरेको छ । नेकपा समाजवादीले क्षेत्र नम्बर १ मा १ हजार २ सय ४७ मत र क्षेत्र नम्बर २ मा २ हजार ५ सय ८० मत प्राप्त गरेको छ ।
यस्तै स्वतन्त्र राजनितिक शक्ति पार्टीले क्षेत्र नम्बर २ मा २ सय १६ मत र क्षेत्र नम्बर १ मा ८१ मत प्राप्त गरेको छ । चुनाव चिन्ह लौरोले क्षेत्र नम्बर २ मा १ सय ७ मत र क्षेत्र नम्बर १ मा ४ सय ३४ मत, हसिया ताराले क्षेत्र २ मा ४ सय ७५ र क्षेत्र १ मा २ सय ३० मत, क्षेत्र नम्बर २ मा चुनाव चिन्ह गिलासले १ सय ६९ र क्षेत्र नम्बर १ मा ३२ मत, ढल्केको छाताले क्षेत्र २ मा ७८ र क्षेत्र १ मा ४ सय २९ मत, चुनाव चिन्ह मादलले क्षेत्र २ मा १ सय मत र क्षेत्र १ मा ७६ मत, चुनाव चिन्ह करुवाले क्षेत्र २ मा १७ मत र क्षेत्र १ मा २ सय ४ मत प्राप्त गरेको छ । यस्तै सबैभन्दा कम चुनाव चिन्ह कछुवा र जगले समान २–२ मत पाएको छ ।
प्रत्यक्षतर्फ मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा राप्रपाका दीपक बहादुर सिंह, नेकपा एमालेका महेश कुमार बर्तौला निर्वाचित हुनुभएको छ भने प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी र कुमारी मोक्तान, नेकपा एमालेका एकालाल श्रेष्ठ र नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।