करिब १० दिनअघि हेटौंडा–१, भैरबडाँडामा बाघले एउटा खसी र एएटा बाख्रा मारेपछि त्यस क्षेत्रमा बाघको त्रास फैलिएको थियो । स्थानीयको भनाइअनुसार बाघको एउटा माउ र दुईवटा बच्चा (डमरु) त्यस क्षेत्रमा देखिएका थिए । बाघको अवस्था बुझ्न र नियन्त्रणमा लिन सहज होस् भन्ने उद्देश्यले त्यस क्षेत्रमा क्यामरा ट्रयापिङ गरिए पनि बाघ फेला पार्न सकिएको थिएन । सोमबार फेरि हेटौंडा–१ कै लालझाडीमा बाघले गोठमा बाँधिराखेको एउटा बाछो मारेको छ । गोठमा बाघले बाछो खान लागेको घरका मानिसले देखेपछि होहल्ला गर्दा बाघ जंगलतिर भागेको थियो । प्रहरीले बाघको खोजी कार्य जारी राखेको भए पनि बाघ फेला पर्न सकेको छैन । सामुदायिक वन क्षेत्र नजिकका मानव बस्तीमा बाघले घरपालुवा जनावर शिकार गरिरहँदा बाघको त्रास झनै बढेको छ ।

दुर्लभ र संरक्षित वन्यजन्तुको सूचीमा रहेको पाटे बाघलाई प्राकृतिक सम्पदाका रुपमा मात्र नभई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणाली र खाद्य श्रृंखलालाई सन्तुलनमा राख्न बाघको महत्वपूर्ण भूमिका रहेको छ । बाघले शाकाहारी जनावरलाई शिकार गरेर आफ्नो आहारा बनाउने भएकाले शाकाहारी जनावरलाई नियन्त्रण गरी वातावरण सन्तुलन कायम गर्न यसको उल्लेखनीय योगदान हुन्छ । अहिले बाघ विश्वका १३ देशमा मात्र पाइन्छ । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छ । नेपालमा विशेषगरी पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ संरक्षित छन् ।

विश्वबाट बाघ दुर्लभ हुँदै गएपछि सन् २०१० मा भएको विश्व बाघ सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण गरेबमोजिम नेपालले उक्त लक्ष्य पूरा गरिसकेको छ । सन् २००९ को गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेकोमा सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बरभन्दा पनि बढी २ सय ५० पुर्‍याउने प्रतिबद्धता गरेकोमा २०२२ को सुरुवातमै नेपालमा बाढको संख्या ३ सय ५५ पुगेको छ । नेपालको चितवनमा राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ पाइएका छन् । सन् २०१० मा एक सय २१ बाघ रहेको नेपालमा सन् २०१३ को गणनामा एक सय ९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २ सय ३५ पुगेको थियो ।

नेपालमा सन् १९७० को दशकबाट बाघको संख्या घटेपछि निकुञ्ज नै बनाएर नेपाल बाघको संरक्षणमा जुटेको थियो । द्वन्द्वकालमा बाघ र गैँडाको संख्या पुनः घटेको भए पनि पछिल्लो समय संरक्षित हुँदै गएका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको संख्या बढ्नुले मानिसमा त्रास पनि बढाएको छ । बाघ संरक्षणले वनजंगल र अन्य पशुपछीका साथै मानव जीवनको कल्याण गर्ने भए पनि बाघको संख्या वृद्धिसँगै त्यसको बासस्थान तथा मुख्य आहारा संरक्षणमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस, दाउरा, निगुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा निकुञ्ज आसपासका सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । नेपालमा बाघको संख्या बढेसँगै यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषयमा ध्यान नदिने हो भने बाघलगायत अन्य जंगली जनावरको त्रास बढ्दै जाने निश्चित छ ।