हेटौंडाः मकवानपुरका माछामासु व्यवसायीले ब्रोइलर कुखुराको मासु प्रतिकेजी दुई सय ५० रुपैयाँमै विक्री गर्ने भएका छन् । कुखुरापालक किसानले यसअघि सहमति गरेको दरमा जिउँदो कुखुरा उपलब्ध नगराएको भन्दै मूल्यवृद्धि गर्नुपर्ने बताए पनि स्थानीय प्रशासनले मूल्यवृद्धि गरे कारवाही गर्ने जनाएपछि व्यवसायीले दुई सय ५० रुपैयाँमै मासु विक्री गर्ने जनाएको छ ।
कुखुरापालक किसानले जिउँदो कुखुरा एक सय ५० रुपैयाँ भन्दा कममा विक्री गर्न नसक्ने जनाएपछि माछामासु व्यवसायीले मूल्यवृद्धि गर्ने जनाएको थियो । यसअघि कुखुरापालक किसानले जिउँदो कुखुरा प्रतिकेजी एक सय २५ रुपैयाँमा उपलब्ध गराउने र व्यवसायीले दुई सय ५० रुपैयाँ प्रतिकेजीमा विक्री गर्ने सहमति भएको थियो । किसानले लागत मूल्य नै एक सय ८० रुपैयाँ प्रतिकेजी रहेको उल्लेख गर्दै एक सय ५० रुपैयाँमा विक्री गर्दा पनि घाटा हुने बताउँदै आएका छन् ।
आज मकवानपुर उद्योग वाणिज्य संघमा भएको छलफलमा व्यवसायीले यसअघि स्थानीय प्रशासनसँगको अनुमतिमा कायम गरिएको दुई सय ५० रुपैयाँमै विक्री गर्ने निर्णय गरेका हुन् । व्यवसायीलाई नाफा नै नहुने अवस्था भए पनि दुई सय ५० रुपैयाँ प्रतिकेजीमै ब्रोइलर कुखुराको मासु विक्री गर्न व्यवसायीहरु सहमत भएको हेटौंडा मासु व्यवसायी संघका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो । हिजो सोमबार मात्रै व्यवसायीले किसानले सहमति गरिएको दरमा कुखुरा उपलब्ध नगराए व्यवसाय नै बन्द गर्ने चेतावनी दिए पनि आज भएको छलफलमा उपभोक्ताको आवश्यकता र किसानकै हितलाई समेत ध्यान दिएर आम्दानी नै नभए पनि व्यवसाय सुचारु राख्न व्यवसायी सहमत भएको माछामासु व्यवसायी संघ मकवानपुरका अध्यक्ष शान्तकी खड्गीले जानकारी दिनुभयो ।