हेटौंडा, ९ बैशाखः बैशाख ५ गतेदेखि दैनिक जसो हावाहुरीसहितको असिनापानीले पीडित बनेका मनहरी गाउँपालिका–५ का स्थानीयलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले त्रिपाल वितरण गरेको छ । रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने नेतृत्वको एक समूहले मनहरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शुभराज थिङको उपस्थितिमा वडा कार्यालयमै आज त्रिपाल वितरण गरेको हो ।
रेडक्रससँग मौज्दात रहेको १२ फिट चौडाई, १८ फिट लम्बाईको त्रिपाल ९५ घरलाई वितरण गरिएको रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिनुभयो । हावाहुरीका कारण पीडित भएको भन्ने जानकारी प्राप्त भएपछि हिजो सोमबार घटनास्थलको अवलोकन गरेर आज त्रिपाल वितरण गरिएको मन्त्री सापकोटाले बताउनुभयो । हावाहुरी पीडितले छानो छाउने काम पनि सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो ।