भवानी तिमल्सिना न्यौपाने

परदेशीको पीडा परदेशीले देखाउन पाउँदैनन्
बर्षौ भो ऋणको भारले घर आउन पाउँदैनन्

बिन्ती कोठीका चेलीलाई निर्लज्ज नभनिदिनुस्
के गरून् बाध्यता छ तिनले लजाउन पाउँदैनन्

गुमाएका हुन् भाग्य ती सम्पूर्ण छोराछोरीहरुले
जसले आमाको काखमा खेल्दै सताउन पाउँदैनन्

हाँसो खुसी त आएको हो अग्ला महलका लागि
यहाँ झुपडीले त झुक्किएर पनि रमाउन पाउँदैनन्

विडम्वना कसैलाई नयाँ लुगा च्यातेर लाउन रहर छ
कसैले कहिल्यै आङ ढाक्ने गरी लगाउन पाउँदैनन्

हेटौंडा–५ मकवानपुर