मैले ‘धुरन्धर : द रिभेन्ज’ हेरेँ । सबैभन्दा पहिले राम्रो कुरा भन्छु चार घण्टाको फिल्म हुँदाहुँदै पनि मलाई बोर लागेन (पहिलो हाफमा एकैछिन बोर लाग्या जस्तो नभएको भने होइन) । बीचमै निदाउने अवस्था भने कहिँ कतै कुनैबेला आएन । समग्रमा हेर्दा फिल्म हेर्न मजा आयो ।
तर, जति उत्साह र उत्सुकता मलाई पहिलो भाग हेर्दा आएको थियो, त्यति यसमा महसुस भएन । पहिलो फिल्म अलि गहिरो थियो । त्यसमा पात्रहरूको मनोवैज्ञानिक पक्ष राम्रोसँग देखाइएको थियो । त्यो फिल्मले दर्शकमा तनाव र सस्पेन्स पैदा गथ्र्यो, र किन यस्तो भइरहेको छ ? भन्ने जिज्ञासा पनि बढाउँथ्यो । त्यसैले पात्रहरूले किन के गर्दैछन् भन्ने बुझ्न मन लाग्थ्यो ।
सायद पहिलो भागमा नयाँपन थियो, त्यसैले त्यो अझ प्रभावशाली लाग्यो । तर यो भाग हेर्दा भने अलि देजावुु जस्तो अनुभव भयो (जस्तो कि यस्ता दृश्यहरू पहिले नै देखिसकेको हुँ । कतिपय ठाउँमा त अब के हुन लागिरहेको छ भनेर सजिलै अनुमान गर्न सकिन्थ्यो, जुन राम्रो संकेत होइन । राम्रो सिनेमाले दर्शकलाई सधैं तनावमा राख्छ, सोच्न बाध्य बनाउँछ अब के होला ? भन्ने उत्सुकता जगाइराख्छ । तर यस फिल्ममा त्यो तत्व केही कम महसुस भयो ।

मैले केहि रिभ्यूहरु अध्ययन गरेँ, धेरै मानिसहरूले यसलाई ‘मास्टर पिस’ भनेर पनि भनेका छन् । तर इमान्दारीपूर्वक भन्नुपर्दा, मेरा लागि भने यो मास्टर पिस होइन । राम्रो फिल्म हो, हेर्न मिल्ने छ, तर जुन स्तरको गहिराइ र प्रभाव म अपेक्षा गरिरहेको थिएँ, त्यो यहाँ पूर्णरूपमा भेटिएन ।
मेरा लागि धुरन्धर २ मा सबैभन्दा दमदार प्रस्तुती भने दुई जनाको रह्यो, अर्जुन रामपाल र सञ्जय दत्त । अर्जुन रामपालले त सबैलाई नै ओझेलमा पारिदिए जस्तो लाग्यो, रणवीर सिंहलाई पनि । मलाई लाग्छ यस फिल्ममा उनले साँच्चै सबैभन्दा बलियो प्रभाव छोडे । उनको स्क्रिन उपस्थिति, उर्जा र अभिनयले फिल्मलाई अर्को स्तरमा पु¥यायो भन्ने लाग्छ ।
त्यस्तै सञ्जय दत्तको प्रदर्शन एकदमै उत्कृष्ट थियो । उनको अभिनयमा कुनै पनि ठाउँमा कमजोरी महसुस भएन । उनी एकदमै खतरनाक देखिन्थे, र जहाँ–जहाँ उनी देखिन्थे, त्यहाँ उनी नै हावी जस्तो लाग्थ्यो । उनले स्क्रिनमै आफ्नो नियन्त्रण जस्तो बनाएका थिए, जस्तो कि सबै कुरा उनकै वरिपरि घुमिरहेको छ ।
तर एउटा कुरा भने निकै खल्लो लाग्यो, अक्षय खन्नाको रहमान डकैत पात्रको अभाव । पहिलो भागमा उनको भूमिका निकै दमदार थियो, र यस भागमा उनी नहुँदा त्यो कमी स्पष्टरूपमा महसुस भयो । साँच्चै भन्नुपर्दा, अक्षय खन्ना तपाईं निकै मिस हुनुभयो । रहमान डकैत बिना फिल्मको त्यो खास शैली नै हराएको जस्तो लाग्यो ।
पहिलो भागमा जुन किसिमको आकर्षण र विशिष्टता थियो, त्यो यसपटक पूर्णरूपमा देखिएन । विशेषगरी त्यो रमाइलो इमप्रमटु डान्स जसले फिल्मलाई अझ यादगार बनाएको थियो, यो भागमा थिएन । यहाँ एउटा बलोच डान्सको भर्सन त राखिएको छ, तर त्यो पहिलेको जस्तो प्रभावशाली र मनमोहक भने कदापि लागेन । त्यसैले समग्रमा हेर्दा, त्यो भाइब, शैली जुन धुरन्धरलाई विशेष बनाउँथ्यो, त्यो यस भागमा अलि कम महसुस भयो ।
हो, फिल्ममा सबै कुरा राखिएको जस्तो देखिन्छ एक्सन, ड्रामा, इमोसन सबै । तर हेर्दा के लाग्यो भने, हलमै पनि धेरैजसो मानिसहरू बीच–बीचमा मोबाइल स्क्रोल गर्दै थिए, अलि ध्यान हराएर फेरि फर्केर फिल्म हेर्थे । यो कुनै पनि फिल्मका लागि राम्रो संकेत होइन । यस्तो लाग्यो कि फिल्मले दर्शकलाई लगातार बाँधेर राख्न सकेन । एउटा साँच्चै मनमोहक, अत्यन्तै रोमाञ्जक, सास रोक्ने खालको अनुभव दिने फिल्ममा यस्तो हुनु हुँदैन ।
स्क्रिप्टको कुरा गर्दा पनि, यसपटक खासै बलियो लागेन । कथा अलि साधारण र केही ठाउँमा अनुमान गर्न सकिने जस्तो महसुस भयो । संगीत पनि त्यस्तै पहिलाको जस्तो यादगार र ताजा होइन । रम्बा हो हो हो जस्तो आकर्षक र बाँध्ने क्याचि गीतको कमी खट्कियो । रसपुटिनलाई प्रयोग गरेको तरिका भने रमाइलो लाग्यो, तर त्यो मात्रले सम्पूर्ण संगीतलाई उठाउन सकेन ।
अर्को कुरा यसमा ग्ल्यामर नै छैन जस्तो लाग्छ । फिल्म अलि ड्राइ र गम्भीर मात्र बनाइएको छ । हिंगोवाद (राष्ट्रिय भावनाको जोड) चाहिँ यसमा देखिन्छ, तर सकारात्मक कुरा के हो भने त्यो अलि सन्तुलित राखिएको छ ।











