हेटौंडाः हेटौंडा–१, भिन्तुनापथस्थित सितु बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजी ३५ लाख रुपैयाँ रहेको छ । सहकारीमा ३ सय २६ जना सेयर सदस्य छन् ।
१ करोड ८९ लाख रुपैयाँ बचत संकलन गरेको सहकारीले १ करोड ९७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । शनिबार सम्पन्न १२ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष गणेश कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै सहकारीले सदस्यलाई बचत गर्ने बानीको विकास गराउनुका साथै ऋण लगानी गरेर सेयर सदस्यको आर्थिक विकासमा सहयोग गर्दै आएको बताउनुभयो ।
सहकारीका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, सुख समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष रेणु ज्ञवालीको पनि आतिथ्य रहेको थियो ।