उपयोगी सहश्राव्दीको नवनिर्मित भवन ।

हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शनिबार सहकारीको १४ औं वार्षिक साधारणसभाको अवसर पारेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले भवन उद्घाटन गर्नुभएको हो । ५४ लाख रुपैयाँ लागत अनुमानसहित दुई तल्लाको भवन तयार पारिएको छ ।

तीन तल्लाको नक्सा पास गरेर हालका लागि २ तल्ला तयार पारिएको सहकारीका अध्यक्ष दिनेश विडारीले बताउनुभयो । सहकारीको स्वामित्वमा रहेको १० धुर जमिनमा भवन निर्माण गरिएको हो । १ हजार ४ सय ३९ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी १ करोड ९ लाख रुपैयाँ रहेको छ ।

सहकारीले ७ करोड ४० लाख रुपैयाँ बचत संकलन गरेको छ भने ७ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभामा सहकारीका अध्यक्ष दिनेश विडारीले वार्षिक योजनामा सेयर सदस्यलाई सीपमूलक तालिमको व्यवस्था गर्ने, सेवा क्षेत्र विस्तार गर्ने, कर्मचारीको क्षमता विकासका लागि तालिमको आयोजना गर्ने उल्लेख गर्नुभएको छ ।